Developed By Kuldeep Sharma

May 8, 2022

भोट माग्न गएका उम्मेदवार स्थानीयले दिएको मिठाइ खाएपछि बेहोस

काठमाडौं । सर्लाहीको हरिवनमा घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि माओवादीका उम्मेदवारसहित सात जना बिरामी परेका छन्। प्रहरीका अनुसार बिरामी हुनेमा वडा नं. ११ का उम्मेदवार शेख इस्तेखार, उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन्।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि निको भएको र शेखसहित दुई जनाको वीरगञ्जमा उपचार भइरहेको जानकारी दिए। उनका अनुसार घरदैलोका क्रममा स्थानीयले मिठाइ तथा चिसो पेय पद्धार्थले स्वागत गरेका थिए। के कारणले घटना भएको हो भन्ने अस्पतालको जानकारी नगराइसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

उक्त घरदैलोमा सहभागी माओवादीका नगर कमिटी सचिव गौरी महतोका अनुसार एक स्थानीयले दिएको मिठाइ खाएको पाँच मिनेटपछि वडाध्यक्षका उम्मेदवार शेख इस्तेखार बेहोस भएर ढलेका थिए। मिठाइ खुवाउने ती स्थानीय एमाले समर्थक भएको उनले दाबी गरे।

इस्तेखारसँगै अन्य उम्मेदवारहरू पनि छटपटाउन थालेपछि सबैलाई हरिवनकै स्वाभिमान अस्पतालमा लगिएको थियो। उक्त घटनापछि माओवादी कार्यकर्ता आन्दोलित बनेका थिए। उनीहरूले हरिवनको सडकमा चक्काजाम गर्दै केही बेर नाराबाजी गरे। माओवादी कार्यकर्ताले एमालेले आफ्ना उम्मेदवारलाई मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ।

एमालेका मेयर उम्मेदवार (हालका पनि मेयर) गणेश प्रसाईँ र ११ नम्बर वडाका साबिक वडाध्यक्ष शेख मेहबुब रेजाको योजनामा यो काम भएको माओवादीको दाबी छ। ‘माओवादीको पक्षमा माहोल बन्दै गएपछि एमालेले हाम्रा उम्मेदवारलाई भौतिक रूपमै सिद्ध्याउने रणनीति बनाएको हो,’ महतोले भने, ‘मेयर उम्मेदवार बुढाथोकीलाई नै टार्गेट गरिएको भए पनि उहाँ संयोगले बच्नुभयो।’

माओवादीको प्रदर्शनका क्रममा मेयर उम्मेदवार कमल बुढाथोकीले पनि भाषण गरेका थिए । भाषण लगत्तै उनी पनि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ। उनी भने गर्मीका कारण बेहोस भएको बुझिएको छ। घरदैलोमा सहभागी बुढाथोकी भने मिठाइ खाने बेला त्यहाँ थिनन्।

घटनापछि नेपाल प्रहरीले यस्ता घटनाबारे सचेत हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma