काठमाडौं। छिन्नमस्ता गाउँपालिका, सप्तरी जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । यस गाउँपालिकाले युवा अध्यक्ष पाएको दुई वर्ष पुरा भयो ।
मुलुककै दोस्रो कान्छो गाउँपालिका अध्यक्ष रहेको यस पालिकामा युवाहरुले युवा विकास र सम्वृद्धिका लागी अवसर खोज्नु स्वभाविक हो । पालिका अध्यक्षले पनि अग्रजहरुबाट सल्लाह लिने र नेतृत्व युवाले नै गर्नुपर्छ भन्ने विचार राख्दै आएका छन् ।
यो वर्ष त्यहाका युवाहरु छिन्नमस्ता युवा सञ्जालको गठनमा पूर्णता दिएर दर्ता गराउने तयारीमा छन् । कुनै पार्टिको छत्रछाया, दवाव र प्रभावमा नपरि विशुद्ध समाजसेवामा सरिक हुनका लागि सञ्जालको माध्यमबाट युवाहरु एकजुट हुने जमर्को गरिरहेका हुन् ।
शनिबार पालिकाकै सभाहलमा मेयरसंग युवाहरुको कार्यक्रम भव्य समारोहमा सम्पन्न भएको थियो । छिन्नमस्ता युवा सञ्जाल, छिन्नमस्ता गाउँपालिका सप्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा पालिका अध्यक्ष विद्यानन्द चौधरीले लामो समय अन्तरक्रिया गरेका थिए । आगामी दिनमा विभिन्न कार्यक्रमको आयोजना, विपद् व्यवस्थापनमा युवाहरुको सहभागिता, सामाजिक कार्यमा युवा अग्रसरता, मागका आधारमा शीप विकास कार्यक्रम, उद्यमी युवा प्रतिभा सम्मान तथा प्रोत्साहन,युवा परामर्श, क्षमता विकास तथा परिचालन लगायतका कार्यक्रम गर्ने विषयमा छलफल भएको पालिका अध्यक्ष चौधरीले बताएका छन् । केहि निश्चित कार्ययोजना बनाएर युवा सञ्जाललाई चलायमान बनाउने र समाजमा हुने विभिन्न शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका क्रियाकलापमा युवाहरुलाई नै क्रियाशिल बनाउनु पर्नेमा उनले जोड दिएका छन् । परम्परागत संस्कृतिदेखी लिएर नविनतम प्रविधिको समेत ज्ञान हुने भएकाले समाज विकासमा युवाहरुकै भुमिका अहम रहने उनको भनाई छ ।
यस पालिकामा विगत दुई वर्षदेखि युवालक्षित सामाजिक कार्यक्रम नभएका पनि होइनन् संस्कृतिक गतिविधि, चाडवर्प, साहित्यदेखि लिएर भलिवल, क्रिकेटजस्ता कार्यक्रम निरन्तर भैरहेपनि त्यसलाई अझ बढि प्रभावकारी बनाउन र पालिकाको जिम्मेवारी युवामा पनि छ भन्ने आभाष दिलाउनका लागि हरेक गतिविधिमा युवालाई समेट्नु आजको आवश्यकता पनि हो ।
शनिबारको कार्यक्रममा करिव पाँच सयको हाराहारीमा उपस्थित युवाभेलाले रोजगार नपाउनु, आफ्नो व्यवसाय धरापमा पर्नु, कृषि कार्यलाई सहज र प्रविधिमैत्री बनाउन नसक्नु जस्ता विषयवस्तु पनि उठान गरेका थिए ।
पालिका अध्यक्ष चौधरीले यस्ता समस्याको समाधान गर्न पहल गर्ने भन्दै कोहि कसैले कृषि उत्पादन गरेको छ तर बजार व्यवस्थापन छैन भने यस्ता उपज आफूहरुले किन्ने र विद्यालयको खाजामा प्रयोग गर्ने बताएका छन् । त्यसरी पनि व्यवस्थापन हुन नसकेको उपजलाई बजार खोजेर बिक्री गर्ने वातावरण बनाउन उनले आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गठित युवा सञ्जालले अब स्थानीय युवाका हरेक समस्याहरु टिपोट गर्ने र ती समस्याबारेमा पालिका नेतृत्वसँग छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए ।
प्रतिक्रिया