काठमाडौं : प्रदेश १ मा आज नयाँ सरकार बन्दै छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्।
आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ।
९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।
सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले नेतृत्वको गठबन्धनसँग ६० जना प्रदेशसभा सदस्य भएकाले सरकार गठनका लागि सहज छ। तर मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका कारण सहमति जुट्न सकेको छैन्।
सातवटै प्रदेशका मुख्यमन्त्री, सातवटै सभामुखको प्याकेजमै भागबन्डा हुने भएकाले सरकार गठनमा केही ढिलाइ भएको बताइएको छ। गठबन्धनका नेताहरूले प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै सरकार गठन गर्ने दाबी गरेका छन्।
प्रतिक्रिया