Developed By Kuldeep Sharma

May 18, 2022

डोटीमा कांग्रेसले कम्युनिष्टलाई दुई सिटमा समेट्यो, गुमेका पालिकामा मतान्तर ४० भन्दा कम

काठमाडौं । नेपाली कांग्रेसले डोटीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एक/एक पालिकामा समेटेको छ। कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको गृह जिल्ला डोटीमा कांग्रेसले ७ पालिका र ३९ वडामा कब्जा जमाएको छ। २ नगरपालिका र ७ वटा गाउँपालिका रहेको डोटीमा एमाले र माओवादीले एक/एक पालिमात्रै जितेका छन्।

कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा जितेको छ। एमाले र नेकपा माओवादी केन्द्रले एक/एक पालिकामा मात्रै जितेका छन्। ०७४ को चुनावमा तीन पालिका मात्र जितेको का‌ंग्रेसले यो पटक सातमा जितेको छ। बाँकी दुई पालिकामा पनि ४० भन्दा कम मतान्तरले पराजय भोग्न परेको छ। कांग्रेसले दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा मेयर/उपमेयर सहित विजयी भएको हो।

त्यस्तै सायल, आदर्श, पूर्वीचौकी र बडीकेदार गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष/उपाध्यक्षसहित विजयी भएको छ। जोरायल गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमेदवार र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्। ६५ वटा वडाहरू मध्ये कांग्रेसले सबैभन्दा बढी ३९ वडामा जितेको छ। एमालेले १८, माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादी एक वडामा विजयी भएको छ। त्यस्तै एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन्।

कांग्रेसले २५ वर्षपछि फर्कायो गुमेको विरासत

दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयर सहित भारी मतले विजयी भएको हो। नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार बाजीसिंह खड्का (विजय) ५ हजार १३८ मतसहित विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गरे। अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका खगेन्द्र बहादुर साउँद (केबी)ले १ हजार ९८३ मत प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उमेदवार रोशन भण्डारीले ५६ मत प्राप्त गरे। यस्तै जनता समाजवादीका उमेदवार कलादेवी श्रेष्ठले १४ मत प्राप्त गरिन् भने राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार असोक बिक (लुहार)ले ४ मत प्राप्त गरे। नगर उपप्रमुखमा नेपाली कांग्रेसकै कलावती महर (साउँद) ४ हजार ७६८ मतसहित विजयी भइन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन्।

अर्का प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका ऐश्वर्या भण्डारी (विष्ट)ले ५७८ मत मात्रै प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार शान्ती कुमारी बोगटी (खड्का)ले १८७ मत मात्रै प्राप्त गरिन्। दिपायल सिलगढी नगरपालिकामा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०५४ मा भएको निर्वाचनमा एमालेले कब्जा जमायो। जसमा एमालेका पूर्णराज जोशीले जितेका थिए।

निर्वाचित मेयर खड्का २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उमेदवार मञ्जु मलासीसँग पराजित भए। ०७४ मा कांग्रेसले ४ वटा वडा मात्रै जितेको थियो भने एमाले ५ वडा सहित मेयर/उपमेयरमा विजयी भएको थियो। यसपटक एमालेको विरासत तोड्दै कांग्रेस पाँच वटा वडामा विजयी भएको छ। स्वतन्त्र जितेका एक जना वडा अध्यक्ष यसअघि कांग्रेसबाट विजयी भएका थिए। एमाले नगरका दुई वटा वडा र माओवादी एक वडामा विजय भएको छ।

पूर्वीचौकीमा कांग्रेसको ‘क्लीन स्वीप’

पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसले एकलौटी विजय हासिल गरेको छ। सात वटा वडा रहेको पूर्वीचौकीमा सातवटै वडामा वडाध्यक्ष र सबै वडा सदस्यसहित अध्यक्ष, उपाध्यक्षमा दोब्बर मतान्तरले कांग्रेसका उम्मेदवारहरू विजयी भएको निर्वाचन कार्यालयले डोटीले जनाएको छ।

गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय, उपाध्यक्षमा पशुपती खड्का विजयी भएका छन्। पूर्वीचौकी गाउँपालिकामा ८ हजार २ सय ५६ मत खसेको थियो। गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भए पनि माओवादी र समाजवादी २ सय ५६ मतमा सीमित भए। २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उमेदवार विजयी भएका थिए।

सायलमा पनि एमालेबाट सत्ता खोसियो

सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन्। जोशी र डुम्रेल दुवैजना २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धी हुन्। उतिबेला डुम्रेल निर्वाचित भएका थिए। यसपटक अध्यक्षमा जोशीले ३ हजार २४३ मत प्राप्त गरि जीत हासिल गर्दा डुम्रेलले २ हजार २४० मत प्राप्त गरे।

नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गरे। उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला बोहरा ओली निर्वाचित भएकी छिन्। उनले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन्।

सिंह निवर्तमान उपाध्यक्ष पनि हुन्। यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा समाजवादीका टिका सिंहले ६ सय २६ मत प्राप्त गरे। ६ वटा वडा रहेको यो पालिकामा ५ वटामा कांग्रेस जित्दा एकमा मात्रै एमाले जित्यो। अघिल्लो निर्वाचनमा एकमात्रै कांग्रेसले जितेको थियो भने पाँचमा एमालले जितेको थियो।

जोरायलमा पुरानै अनुहार

जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरिएका छन्। ०७४ को निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित भएका हुन्। नेकपा एमालेका उमेदवार ओझा ३७ मतको अन्तरले मात्रै विजयी भएका हुन्।

उपाध्यक्षमा एमालेकै बोहरा पनि थोरै मतान्तरले विजयी भएकी छिन्। ओझा ३ हजार ४ सय ४९ मतसहित विजयी भएका हुन् भने निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दीपकबहादुर विष्टले ३ हजार ४ सय १२ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीका अध्यक्षका उमेदवार किरण मल्लले एक हजार ६ सय ५९ मत प्राप्त गरे। राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उमेदवार रघुनाथ वस्तीले २७ मत मात्रै प्राप्त गरे। २०६४ को निर्वाचनमा पनि ओझा कांग्रेस उमेदवार विष्टसँगै निर्वाचन लडेका थिए।

उपाध्यक्षमा बोहरा ३ हजार ५ सय ९९ मत ल्याएर विजयी भइन् भने उनका निकटम प्रतिद्वन्द्वी चन्द्रा साउँद बोहराले ३ हजार ५ सय १७ मत प्राप्त गरिन्। नेकपा माओवादी केद्रका उपाध्यक्षका उमेदवार प्रेमा कुमारी ओलीले एक हजार ३ सय १७ मत प्राप्त गरिन्। ६ वटा वडा रहेको जोरायल गाउँपालिकामा दुई वडा कांग्रेसले जितेको छ भने चार वडामा एमाले विजयी भएको छ।

आदर्शमा पनि कांग्रेसले सत्ता फर्कायो

आदर्श गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित चार वटा वडामा कांग्रेस विजयी भएको हो। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७ सय ७३ मत सहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार डम्बर ओलीले ३ हजार ३ सय ७७ मत प्राप्त गरे।

माओवादी केन्द्रका उमेदवार योगेन्द्रबहादुर खड्काले ९ सय ७ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराप्रसाद ओझा १ सय ३६ मतमा सीमित रहे। त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मी धामी (रोकाया) ३ हजार ६ सय ७४ मत सहित विजयी भइन्।

उनका निकटतम प्रतिद्वन्दी एमालेका जानकी खड्काले ३ हजार ३ सय ८९ मत प्राप्त गरिन्। एकीकृत समाजवादीका रमेश विष्टले ३ सय ३३ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार कविता साउँदले एक सय ७२ मत प्राप्त गरिन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वटा वडा रहेको आदर्शमा ४ वडामा कांग्रेस र ३ वडामा एमाले विजयी भएको छ। ०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेसले एक वडामा मात्रै जितेको थियो।

बोगटानमा अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस

बोगटान फुड्सील गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा माओवादीका उमेदवार कमल बहादुर गड्सिला विजयी भएका हुन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विष्नादेवी बम विजयी भएका छन्। अध्यक्ष गड्सिला ३४ मतको अन्तरले विजयी भएका हुन् भने उपाध्यक्ष बम ७२ मतको मतान्तरले विजयी भएकी हुन्।

गड्सिलाले २ हजार ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार हस्त बहादुर बुढाले २ हजार २४ मत प्राप्त गरे। नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार डीलबहादुर बमले एक हजार ९ सय ३४ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसका विष्ना देवी बम २ हजार ६३ मत ल्याउँदै विजयी भएकी हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार ज्ञानु मल्ल बमले एक हजार ९ सय ९१ मत प्राप्त गरिन्।

अर्का प्रतिद्वन्द्वी माओवादी केन्द्रका कलावती कुमारी चिमालले एक हजार ८ सय ७१ मत प्राप्त गरिन्। बोगटान फुड्सील गाउँपालिकाका ७ वटा वडामध्ये २ वडामा एमाले, दुई वटा वडामा माओवादी र ३ वटा वडामा कांग्रेस विजयी भएको छ।

बोगटानमा माओवादी केन्द्रलाई एकीकृत समाजवादीको पनि साथ रहेको थियो। ०७४ को निर्वाचनमा गाउँपालिकाका अध्यक्ष सहित माओवादीले ३ वटा वडा, एमालेले उपाध्यक्ष सहित ३ वडा र कांग्रेसले १ वडा मात्रै जितेको थियो। यो गाउँपालिकामा ०७४ को निर्वाचनमा माओवादीले अध्यक्ष जितेको थियो।

बडीकेदारमा समाजवादी-माओवादी गठबन्धन तेस्रो
बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी भएका हुन्। कांग्रेसका भैरबबहादुर साउँद २ हजार ३ सय ४३ मतसहित गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका चक्र बहादुर घर्तिले १ हजार ६ सय ८४ मत प्राप्त गरे। त्यस्तै, नेकपा समाजवादीका भक्तबहादुर साउदले १ हजार ४ सय ७१ मत पाए। उपाध्यक्षमा कांग्रेसकी दम्मरीकुमारी विष्ट २ हजार ४ सय ७ मत ल्याएर विजयी भइन्।

उनका निकटम प्रतिद्वन्द्वी एमाले सपना सिडारीले २ हजार २ सय ७६ मत प्राप्त गरिन्। माओवादी केन्द्रका देवीसरा देवी घर्तीमगरले ८ सय ३२ मत प्राप्त गरिन्। गाउँपालिकाका ५ वटा वडामध्ये कांग्रेस २, एमाले २ र माओवादी १ वडामा विजय भएको छ। यो पालिकामा कांग्रेसले नै ०७४ मा अध्यक्ष जितेको थियो।

केआईसिंहमा पुरानै अनुहारले पाए लोकप्रिय मत

केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा कांग्रेसका उमेदवार विजयी भएका हुन्। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र बहादुर शाही ४ हजार २६२ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका र केशवनाथ योगीले २ हजार ६६१ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै मिना देवी विष्ट ४ हजार ७२ मतसहित विजयी भएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका निर्मला अवस्थीले २ हजार ५३६ मत प्राप्त गरिन्। केआईसिंह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा चुनाव लडेका थिए।

यो गाउँपालिका नेकपा माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एकीकृत समाजवादीका नेतृ सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीको गृह पालिका हो।

अध्यक्षमा निर्वाचित शाही र उपाध्यक्षमा निर्वाचित विष्ट २०७४ को निर्वाचनमा पनि ७ वटा वडासहित भारी मतले विजयी भएका थिए। केआईसिंह गाउँपालिकाका सात वडामध्ये चार वडामा नेपाली कांग्रेस, एक वडामा राप्रपा र एक/एक वडामा समाजवादी र माओवादी विजयी भएको छ।

शिखरमा कांग्रेस दोस्रो पटक विजयी
शिखर नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले मेयर/उपमेयर सहित ७ वटा वडामा जितेको हो। ०७४ को निर्वाचनमा पनि कांग्रेसले ८ वडासहित मेयर/उपमेयर जितेको थियो। नगर प्रमुखमा नेपाली कांग्रेसका दीर्घ बलायर ६ हजार ५६२ मतले विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरे। अर्का प्रतिद्वन्द्वी एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत प्राप्त गरे भने राप्रपाका गिरी रोकाया ४२ मतमा सीमित रहे। उपप्रमुखमा नेपाली कांग्रेसका सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमाले उमेदवार लक्ष्मी देवी मल्लले ४ हजार ६४५ मत प्राप्त गरिन्। अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका रमेश प्रसाद जोशीले ३६६ मत मात्रै प्राप्त गरे। नगरका ११ वटा वडामध्ये ७ वडामा कांग्रेस र ४ वडामा एमाले विजयी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma