Developed By Kuldeep Sharma

May 26, 2022

गेटा मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

काठमाडौं । कैलालीको गेटा मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। मेडिकल कलेज सञ्चालनका लागि वृहत नागरिक दबाब अभियानले कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र बुझाएको हो।

आगामी आर्थिक वर्षभित्रै विशेषज्ञ स्वास्थ्य सेवासहित मेडिकल कलेज सञ्चालनको विश्वासिलो र भरपर्दो व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ। यस्तै स‌ंघीय संसदको चालु अधिवेशनमै गेटा मेडिकल कलेजको कानुनी हैसियत स्पस्ट हुने नीतिगत व्यवस्था गर्न पनि माग गरिएको छ।

सरकारले चालु सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गेटा मेडिकल सञ्चालन गर्ने बारेमा कुनै व्यवस्था नगरेपछि सुदूरपश्चिममा आन्दोलन चर्किएको छ। मेडिकल कलेज सञ्चालनका लागि भौतिक संरचना तयार रहेपनि सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सुदूरपश्चिममा आन्दोलन थालिएको हो।

गेटा मेडिकल कलेज सञ्चालन गर्न संघर्ष समिति नै गठन गरेर सरोकारबालाहरूले धनगढी, अत्तरियामा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। निर्माण भएका भौतिक संरचनामा मेडिकल कलेज सञ्चालनको प्रक्रिया सुरु गर्न सरोकारबालाको माग छ।

मेडिकल कलेजका ९० प्रतिशत संरचना तयार भए पनि अस्पताल सञ्चालन नभएको भन्दै प्रदेशका नागरिकले दबाबमुलक आन्दोलन थालेका छन्। धनगढीमा आज विहान बसेको एक भेलाले सरकारलाई दबाब दिन चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको छ। सोही कार्यक्रम अन्तर्गत आज ज्ञापन पत्र बुझाइएको हो।

यस्तै भोलि जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ। कैलालीको गेटामा अर्बौंको लगानीमा मेडिकल कलेजको भौतिक पुर्वाधार तयार गरिएको छ तर त्यसको संचालनको लागि सरकार उदासीन भएको स्थानीयको आरोप छ।

कैलालीको गेटामा २०७३/०७४ बाट निमार्ण सुरु भएको मेडिकल कलेजको ९० प्रतिशत काम पूरा भएको छ। तर अस्पतालका लागि आवश्यक उपकरण, फर्निचर र जनशक्तिको व्यवस्थापन भएको छैन। सरकारले मेडिकल कलेजको प्रारुपको टुंगो नलगाएकाले उपकरण र जनशक्ति व्यवस्थापनमा पनि समस्या देखिएको हो।

सरकारले नयाँ नीति तथा कार्यक्रममा सुदूरपश्चिमको डडेल्धुरामा पनि मेडिकल कलेज सञ्चालन गर्ने कुरा समेटेको छ। भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेज सञ्चालन गर्न नसकेको सरकारले यस प्रदेशमा चाँडै नयाँ मेडिकल कलेज सञ्चालनमा ल्याउछ भन्नेमा प्रदेशबासी विश्वस्त भने हुन सकेका छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma