Developed By Kuldeep Sharma

August 3, 2022

कहिले फिर्ता होला छोरीको स्वतन्त्रता ?

काठमाडौं। हाम्रो समाजमा छोरीलाई अझै पनि हेला र तिरस्कार गर्ने गरिन्छ। पुरातनवादी सोच अनि पुरुषप्रधान देश भएकाले छोराछोरी बीच समान ब्यवहार कहिलेबाट गरिन्छ भनेर यसै भन्न सकिने अवस्था छैन।

कुनैपनि घर शान्त, सुन्दर अनि संस्कारिक हुन अवश्य पनि छोरीको आवश्यकता पर्दछ। चाडपर्व पनि छोरी नभए शुन्य प्राय हुन्छ। जब हामी छोराको बिहे गर्ने सोचमा पुग्छौ तब सुन्दर, सुशील र भाग्यमानी बुहारीको खोजीमा दिनरात भौतारिन्छौ र त्यतिबेला सोच्दैनौ कि ती बुहारी पनि त कसैकी छोरी हुन् भनेर। हाम्रो समाजमा संसार देख्न नपाउँदै कयौं छोरीहरूको आमाको कोखमै हत्या गरिन्छ। जन्मिसकेपछि छोरीको शरीरमा जति अंग छन्, ती सबैमा छोरीले परिवार र समाजको इज्जत बोकिदिनुपर्छ।

ढुक्क हुनुहोस्, तपाईं छोरा हो भने त्यो बोझ बोक्नु पर्दैन। छोरी मान्छे अर्काको घर जाने जात हो। छोरी मान्छे त जन्मघरको दुई दिनको पाहुना हो। पढेर पनि के गर्छेस् र यति त पढिहालिस्। बिहे गरेर पनि पढ्न पाइहालिन्छ भनेर करकाप डर धम्की देखाएर सानै उमेरमा बिहे गर्न बाध्य बनाउने हाम्रो समाज छ। परिवारले पनि सानै उमेरदेखि मनमा डरत्रास बसालेको हुन्छ। तँ छोरी मान्छे होस् सर्तक भएर हिँड्नुर्छ। कोही केटा मान्छेसँग धेरै नबोल्नू, सज्जन र इमान्दार भएर हिँड्नु, आफ्नो परिवारको इज्जत राख्ने काम गर्नू, कसैसँग मुख मुखै नलाग्नू भनेर छोरी मान्छेलाई सतर्क बनाउने गर्छन्। तर त्यही परिवारले छोरा मान्छेलाई कहिले पनि यस्ता किसिमका नियम लगाउँदैन। उसले जे गरे पनि परिवार र समाजले उसलाई छुट दिएको हुन्छ। तर त्यही समाजमा हुर्किंदै गरेको छोरीले स्वतन्त्र भएर हिँड्न नपाउने हाम्रो समाज छ।

छोरी भएकै कारण सबैसँग डराएरै बस्नुपर्ने। अहिलेको समाज तथा परिवारले छोरी मान्छे कहीँ कतै सामाजकि विकृति वा आफ्नो भविष्यको बारेमा बोल्दा पनि बोल्न नपाउने। छोरी मान्छे भएर पनि कति उताउली भएकी यस्तै भयो भने भोलि बिहे गरेर कसले पो लैजाला भन्ने गरेको पाइन्छ। छोरी मान्छेको पीडा उसको आफ्नो सपना हुँदैन, आफ्नो घर हुँदैन, आफ्नो थर हुँदैन, आफ्नो निर्णय हुँदैन र आफ्नो स्वतन्त्रता हुँदैन। यदि छोरीहरू आर्थिक रूपमा सक्षम छन् भने चाहिँ केही हदसम्म उनीहरूले चाहेको कुरा गर्न सक्छन् नत्र सबै रहरहरू मनमा दबाएर राख्नैपर्छ। समाजमा विभिन्न किसिमका सामाजिक हिंसामा वृद्धि भइरहेको पाइएको छ।

जस्तैः आत्महत्या गर्ने, हत्या गर्ने, घरेलु हिंसामा वृद्धि हुने, सम्बन्ध बिच्छेद हुने, मानव बेचबिखनमा वृद्धि हुने, विभिन्न किसिमका रोगहरू लाग्ने सोचेको कामहरू गर्न नपाउने जस्ता सामाजिक हिंसाका घटमा वृद्धि भइरहेको छ। छोरी मान्छे बिहे गर्नको लागि मात्र ठूलो हुने हाम्रो समाज छ। आफ्नो स्वतन्त्राको लागि, सपनाको लागि, आफ्नो जीवनको लागि, कुनै स्वतन्त्र भएर निर्णय गर्नको लागि, कुनै मन लागेको ठाउँमा घुम्न जानको लागि निर्णय गर्न पाइँदैन। अरूले भनेको कुरामा हो मा हो भन्दै बस्नुपर्छ। घरायासी कुराहरूको निर्णय लिने कुरामा छोरीलाई अझै पनि स्वतन्त्रता छैन। घरको कुनै पनि निर्णय लिने कुरामा सकेसम्म छोरीहरू नबोलिदिए हुन्थ्यो जस्तो गर्छन्।

निर्णय लिन र दिन त परको कुरा। यी कुरामा छोरी मान्छे कहिले ठूलो नहुने खाली कलिलो उमेरमा बिहे गर्नको लागि मात्र छोरी ठूली भएको सबैले देख्ने हाम्रो समाज छ। राम्रो अध्ययन गर्दै गरेको छोरीलाई उसको भविष्य राम्रो होस् भनेर कसैलाई चिन्ता हुँदैन। उ राज्यको उच्च ओहदामा पुगोस् भनेर कसैलाई चिन्ता हुँदैन। उसको उज्वल भविष्य होस्, आफ्नो खुटामा उभिओस्, उच्च शिक्षा हासिल गरोस्, समाजमा प्रतिष्ठित महिला बनोस् भनेर स्वयम परिवार तथा नातागोताको पनि चासो हुँदैन। तर २०।२१ वर्षको कलिलो उमेरमा तपाईंको छोरी ठूली भइसकी, बिहे गर्ने बेला भयो, राम्रो परिवारबाट कुरा आएको खण्डमा बिहे गरिदिनुपर्छ। बढेको छोरीलाई घरमा राख्दा राम्रो हुँदैन, अर्कोको घरमा जाने जात हो। छोरीको जातलाई धेरै उमेरसम्म राख्नु हुँदैन बिहे गरेर पठाइदिई हाल्नुपर्छ भनेर समाजका शिक्षित व्यत्तिले भन्ने गर्दछन्।

जब छोरीको बिहे खान्दानी घर हेरेर गरिन्छ। त्यसपछि उसको जीबन सुरु हुन्छ। अहिले कतिपय शिक्षित व्यतिहरूले केही हद सम्म बुहारीलाई राम्रो गर्ने गरेका त छन् तर पनि कुरा त उही हो। यो त बुहारीले गर्नुपर्छ, बुहारी यो गर त, बुहारी त्यो गर त। यसो कतै जान खोज्यो ओ हो हुदैन् घरको काम कसले गर्छ। हेर त पल्लो घरको बुहारीले त सासुलाई तिलहरी ल्याईदिछ नी। अनि छिमेक भरिका महिला जम्मा भएर कुरा काट्न सुरु गर्छन्। यसो कसैसँग बोल्यो, यसको चालामाला ठिक छैन। हेर लुगा पनि छोटो लागाइछ। हिजोआज खुब मस्केकी छ भनेर आफ्ना छोरालाई कुरा लगाउछन्। अनेक आरोप लगाइन्छ। श्रीमान श्रीमती बीच द्वन्द्व सुरु हुन्छ। अनेक पीडा, अन्याय छोरीले नै भोग्नु पर्छ। अनि उसले माइतिमा सुनाउन खोज्छे तर पीडा सुन्ने र बुझ्ने कोही हुदैँनन्। छोरीले जति गाह्रो भएपनि घर गरेरै खानु पर्छ नत्र इज्जत जान्छ। समाजले के भन्छ? फलानाको छोरीले घर गरेर खाइन भनेर कुरा काट्नेको मेलानै सुरु हुन्छ। अनि उ बाध्य भएर घर गरेर खान कोसिस गर्छे, धेरै सघंर्ष गर्छे तर अन्तिम अवस्थामा आत्महत्या गर्न बाध्य हुन्छे। समाजले अझ उल्टै कसको पेट पो बोकि की , नत्र किन मरी जस्ता प्रश्न उठ्छ । अनि परिवार हार गुहार गर्दै न्याय माग्न पुग्छ।

हाम्रो देशमा कनुन छ तर अन्धो छ। पीडितले न्याए पाउदैन। हत्यारा, बलत्कारी खुलेहाम समाजमा ठाडो सिर गरेर हिड्छन्। छोरीलाई तिमी आफ्नो सहजता हेर, छोरी भएकै कारण गर्न नसक्ने भन्ने केही कुरा हुँदैन, कुनै बन्देज हुँदैन, स्वतन्त्र भएर काम गर, तिमीले चाहेको कुरा पूरा गर। तिमी अघि बढ सिंगो समाजले र देशले साथ दिनेछ। आफ्नो सपना पूरा गर, इच्छा लागेको मान्छे र आफ्नो निर्णय अनुसार विवाह गर्न पाउने भन्ने साहस दिने खालको व्यवहार कहिले होला समाजमा?

के छोरी मान्छेको आफ्नो स्वतन्त्रा छैन?, के उसले आफ्नो भविष्य उज्वल बनाउने अधिकार छैन? उसले आफ्ना इच्छा आंकाक्षालाई कलिलो उमेर मै मार्नुपर्ने? उसलाई उच्च शिक्षा हासिल गर्ने अधिकार छैन र? उसलाई राम्रो शिक्षा दिन आवश्यक छैन? छोरी मान्छेले कुन उमेरमा बिहे गर्दा ठिक हुन्छ भनेर सोच्ने अधिकार स्वयम् छोरी मान्छेलाई हुँदैन र? यस्ता प्रश्नहरूको जवाफ नै खोज्न नपर्ने दिन जबसम्म आउँदैन तब सम्म छोरी मान्छे छोरा जस्तै स्वतन्त्र हुन सक्दैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma