Developed By Kuldeep Sharma

June 7, 2022

पुस्तक समिक्षा : इतिहासभित्र लुकाइएको इतिहास

इतिहासको जानकारी हुनु अत्यन्तै महत्वपूर्ण कुरा हो। इतिहास घटना परिघटनाहरूको श्रृङ्खला हो। कुनै पनि विषयवस्तुको यथेष्ट जानकारी बिना उक्त विषयवस्तुको उद्भव, विकास र विनासको प्रकृयालाई सहि ढङ्गबाट बुझ्न र विश्लेषण गर्न सकिँदैन। जसले गर्दा विषयवस्तुमाथिको हाम्रो पकड रहन सक्दैन। जब हामी इतिहासको सही र यथेष्ट जानकारी पाउन सक्दैनौं तब हामी न त वर्तमानको सही मूल्याङ्कन नै गर्नसक्छौँ न त भविष्यको बाटो तय गर्न नै सक्छौँ।

अर्थात् हाम्रो सामूहिक चेतनाको निर्माण। हाम्रो इतिहासको बारेमा जानकारी गराउने स्रोतहरू विभिन्न प्रकृतिका छन्। त्यसमा पुराना लिखित सामाग्रीहरू, केही श्रृतिहरू,स्मृतिहरू, केही मौलिक गीत संगीतहरू, पुरात्तात्विक सामाग्रीहरू, हाम्रो भेषभुषा, जीवनशैली आदिबाट प्राप्त गर्न सकिन्छ।तर केही लिखित सामाग्रीबाहेक अरू स्रोतहरू निरन्तर परिस्कृत, गतिशिल र अझ केही सामाग्रीहरू त नष्ट हुने भएकाले तिनको ठूलो वैज्ञानिक शोधखोज बिन तिनको आधारमा इतिहासको जानकारी प्राप्त गर्न धेरै नै कठिन हुन्छ। हामीलाई हाम्रो इतिहासको बारेमा जानकारी प्राप्त गर्न सबैभन्दा सजिलो र सरल उपाय भनेको प्राचिनतम् लिखित सामाग्रीहरूबाट नै हो।

यो तरिका पनि पूर्णतया कमजोरी बिहिन भने हुँदैन। साथै अर्काको के कुरा पनि ध्यान दिन आवश्यक हुन्छ भने हामीले अध्ययन गर्ने विषयवस्तुको समय र सन्दर्भको बारेमा ख्याल गर्नु एकदमै जरुरी हुन्छ। यो संसार विविधतायुक्त छ। यहाँ बसोबास गर्ने मानिसहरूको भिन्नभिन्न भौगोलिक अवस्थिति, सामाजिक,साँस्कृतिक जीवनशैली र मुलतः त्यहाँका मानिसहरूले आफ्नो जीविकोपार्जन कसरी गर्छन भन्ने कुराले उनीहरूको इतिहास कसरी निर्माण हुन्छ भन्ने कुराको निर्धारण हुन्छ। अझ मानिसहरूले गर्ने सामाजिक उत्पादन पद्धतिमा आधारित उत्पादक शक्तिको विकास र उत्पादन सम्बन्धको अवस्थाले त्यहाँको सौन्दर्य र इतिहासको निर्माण हुन्छ।

त्यसैले हामीले ख्याल राख्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा कुन प्रकारको उत्पादन पद्धतिमा आधारित समाज व्यवस्थाको इतिहासको जानकारी लिन खोज्दैछौँ भन्ने पनि हो। यति भइसकेपछि एउटा प्रश्न उठ्छ के मानिस एक्लै उत्पादन गर्नसक्छ त ? के मानिसले आफ्नो एक्लको शौर्य र साहसले मात्रै इतिहासको निर्माण गर्नसक्छ त ? यसको सरल उत्तर छ–मानिसले एक्लै उत्पादन गर्न सक्दैन। उत्पादनका लागि मानिस एउटा निश्चित सम्बन्धमा समावेश हुनुपर्दछ।

एउटा यस्तो विशेष प्रकारको सम्बन्धमा समावेश हुनुपर्दछ जहाँ मानिस मानिस एकआपसमा, मानिस र प्रकृतिबीच, मानिस प्रकृति र औजारहरूबीचको एक प्रकारको सम्बन्ध स्थापित हुन्छ र जसले गर्दा मात्रै उत्पादन सम्भव हुन्छ। यसैलाई नै उत्पादन सम्बन्ध भनिन्छ। यी सम्बन्धका आधारमा नै समाजमा वर्गहरूको निर्माण हुन्छ। यी सम्बन्ध भित्र समावेश हुने मानिसहरूको समूहहरूमा एउटा समूहसँग उत्पादनका साधनहरूको स्वामित्व हुन्छ भने एउटा समूहसँग हुँदैन।

आजसम्मको इतिहासले के देखाएको छ भने, उत्पादनका साधनमा स्वामित्व हुने वर्ग संङ्ख्याका आधारमा सानो छ। तर त्यो सधै नै शासक वर्गको रुपमा छ तर जुन वर्गसँग उत्पादनका साधनमा स्वामित्व छैन त्यो संङ्ख्याका आधारमा ठूलो छ तर हमेसा शोषित वर्गको रुपमा रहेको छ। शासक वर्गले हमेसा आफ्नो शासनसत्ता टिकाई राख्नका लागि समाजका विभिन्न संरचनाको व्यापक उपयोग गरेको हुन्छ जसको फलस्वरुप समाजको बहुसंङ्ख्याले आफ्नो शोषणको मुल कारण थाह पाउन सकेको छैन। जसको कारण प्रतिरोध गर्न पनि सकिराखेको छैन। शोषकहरूले मौजुदा समाजको संरचनाभित्र दर्शन, राजनीति, कानुन, कला, साहित्य, नैतिकता र सत्ताको संयन्त्र नै आफूलाई फाइदा दिने खालको निर्माण गरेका छन्। जसको सोझो असर बहुसंङ्ख्याको चेतना माथि प¥यो र उनीहरूले प्रश्न गर्ने चेष्टा सम्म गर्न सकेनन्। यसले गर्दा समाजको ठूलो हिस्साको जनसङ्ख्या अल्पसंख्याको शासनलाई स्वभाविक, प्रकृतिक मान्न र अधिनमा बस्न तयार छ।

यसै सन्दर्भलाई लिएर जर्मन दार्शनिक तथा साम्यवादका प्रवर्तक कार्लमाक्स र उनका परम मित्र फ्रेडरिक एंगेल्सले आफ्नो पुस्तक जर्मन विचारधारामा भनेका छन्, ‘सत्ताधारी वर्गको विचार प्रत्येक युगमा सत्ताधारी विचार हुन्छन्। अर्थात् जुन वर्ग समाजको भौतिक उत्पादनको मामिलामा सत्ताधारी शक्ति हुन्छ सँगसँगै त्यही वर्ग नै बौद्धिक शक्तिको पनि सत्ताधारी हुन्छ। जुन वर्गसँग उत्पादनको भौतिक साधनहरू हुन्छन् त्यही वर्गसँग नै समाजको बौद्धिक उत्पादनका साधनहरू पनि हुन्छन्। फलस्वरुप साधारणतया जुन वर्गसँग उत्पादनका साधनहरमा नियन्त्रण हुँदैन तिनीहरूको विचार सत्ताधारी वर्गको विचारको अधिनमा रहनु अनिवार्य हुन्छ।’

यो कथन अत्यन्तै वैज्ञानिक तथा ऐतिहासिक छ। हामीलाई हाम्रो इतिहासको जानकारी लिन खोज्दा आजसम्मको मुल धारणा के दिइने गरिएको छ भने सामाजिक जीवनको वैज्ञानिक ज्ञान प्राप्त गर्न असम्भव छ। समाजको जीवनमा घट्ने घटनाहरू प्रकृतिमा जस्तो नियमबद्धतामा हुँदैनन्। समाजमा घट्ने घटनाहरू त आकस्मिक र अनायासै हुन्छन्। कुनैपनि कुराको पहिलेबाट नै प्रकृयालाई हेरेर अनुमान गर्न सकिन्न। त्यसैले गर्दा नै असाधारण व्यक्तित्व, महान विचारक, राष्ट्रका महान निर्माणकर्ता, सेनानीहरूले नै आफ्नो स्वइच्छाअनुसार इतिहासको निर्माण गर्छन्। तर माथिको माक्सको उद्धरणले यस्तो धारणाको जबरजस्त वैज्ञानिक खण्डन गरेको छ।

यति भन्दैगर्दा माथिको उद्धरणलाई सम्पूर्ण रुपमा यान्त्रिक ढङ्गबाट बुझ्नु पनि सही भने हुँदैन। अर्को ख्याल राख्नु पर्ने कुरा के हो भने अवश्य पनि इतिहासको निर्माण मानिसहरूले नै गर्दछन् र सतही दृष्टिकोणले हेर्दा समाजको विकासक्रम नै आकस्मिकताहरूको लामो श्रृङ्खलाहरू जस्तो देखिन सक्छ। तर असाधारण व्यक्तित्वहरू लगायत सबै मानिसहरूको क्रियाकलापहरूको वास्तविकता पत्ता लगाउन सकिदैन भन्ने कदापि होइन्।

मानव समाजको वैज्ञानिक विश्लेषणबाट के देखिन्छ भने सरसर्ती हेर्दा अचम्म र अचानक भएको जस्तो देखिने घटनाहरूमा पनि निश्चित नियमितता पाइन्छ। त्यसैले समाजको विकासलाई पनि प्रकृतिको विकास प्रकृयालाई जत्तिकै बुझ्न र विश्लेषण गर्न सकिन्छ। त्यसका लागि हामीले कुनै व्यक्तिको शौर्य र साहासलाई भन्दा पनि तत्कालिन समाज व्यवस्थाको भौतिक उत्पादन पद्धतिमा गरेर इतिहासको जानकारी खोज्नुपर्छ। अर्थात् ऐतिहासिक भौतिकवादी दृष्टिकोण अपनाउनुपर्दछ।

यो संसारमा रहेका ७ वटै महादिप मध्ये मानविय सभ्यताको शुरुवात भएको यो एक हिमाली उपमहादिप अर्थात् हामी बसोबास गरिरहेको भारतीय उपमहादिपको भू–क्षेत्र पनि प्राचिनकाल देखि मानविय संस्कृतिको केन्द्र रहँदै आएको छ। हाम्रो यस हिमाली उपमहादिपमा पनि फरक फरक सभ्यताहरूको उद्भव, विकास, फैलावट र विभिन्न सभ्यताहरू बीचमा संघर्ष पनि भए। यस क्षेत्रमा बस्ने जातिहरूको सामाजिक उत्पादनबाट प्राप्त इतिहासलाई हामी लिखित रुपमा आज पनि पाउन सक्छौ। तर जतिपनि छन् तिनी साराका सारा धार्मिक जालोले बाँधिएका छन्।

लामो समयसम्म यो धार्मिक जालोलाई हटाउन सानोतिनो प्रयास त भए तर स्पष्ट रुपमा हटाउन सकिएन। अझै पनि कति त बाँकी नै छन्। तर पनि यस सन्दर्भमा विषेशत १९ औँ र २० शताब्दी मा भारतमा केही उत्कृष्ट काम भएका छन्। तर पनि त्यतिखेरको परिस्थितिले गर्दा इतिहासको सहि जानकारी भने पाउन धेरै नै गाह्रो भयो। खास गरेर यस समयमा इतिहासकारहरूको इतिहासलाई प्राचिनतासँग गाँस्ने हठको चेतना हदै सम्म पुग्यो। जुन अहिलेसम्म नि थोरबहुत बाँकी नै छ।

यस्ता प्रकार इतिहासकारहरूले अहिले सम्म पनि दावा गर्छन्–यस भू–क्षेत्रमा बसोबास गर्ने हामी प्राचिन मात्रै होईनौँ, आज संसारभरी जुन प्रकारको संस्कृतिको अशं बनेका जे जस्ता वस्तुहरू देखेका छौँ। जस्तैः विज्ञान, दर्शन, राजनीति, कला, साहित्य आदि। ती सबै एक जमानामा हाम्रो प्राचिन साहित्यमा थिए। हाम्रा ऋषिमूनि र पूर्खाहरूले सबै जानेका थिए। यदि कान्ट महान दार्शनिक हुन् भने शंकराचार्य ती भन्दा महान हुन्। यदि न्युटन महान वैज्ञानिक हुन् भने भाष्कराचार्य ती भन्दा महान वैज्ञानिक थिए। यदि सेक्सपियर महान नाटककार हुन् भने कालिदास ती भन्दा महान नाटककार हुन्।

यस भू–क्षेत्रमा पुष्प विमानको रुपमा प्राचिन समयमा नै हवाईजहाज, रेलगाडी र विभिन्न अस्त्रको रुपमा प्राचिन समयमा नै विष्फोटक पदार्थ (आणविक हतियार) आदि सबै वस्तुहरू थिए। सबै कुरा हामीसँग त्यही जमानामै थिए। जतिखेर युरोपियनहरू भालुको छालाले शरिर ढाकेर जङ्गल जङ्गल डुल्थे।

हाम्रा पूर्वजले यस्ता वस्तुको निर्माण गरेका थिए जुन अरु कसैले बनाउन सके न त भविष्यमा नै बनाउन सक्ने छन् आदि आदि। यसरी इतिहासको अवैज्ञानिक र बिना तथ्य इतिहासलाई तोडमोड गर्ने चलन नै बसेको थियो र छ। यसका विरुद्ध एक वस्तुवादी, तथ्यसंङ्गत र ऐतिहासिक दृष्टिकोणबाट इतिहासको अध्यायन,व्याख्या र लेखन गर्नु अनिवार्य भएको छ।

यसरी इतिहासलाई अवस्तुवादी, आत्मगौरवको नाममा अवैज्ञानिक रुपमा इतिहासको व्याख्या र लेखनमा १९ औँ र २० औँ शताब्दीमा त्यतिबेलाको केही ऐतिहासिक परिस्थितिले पनि भूमिका खेलेको छ र केही यस्ता इतिहासका वुद्धिजीवीहरू थिए। उनीहरूको उदश्य के थियो ? र उनीहरू कुन वर्गको प्रतिनिधित्व गर्दथे भन्ने कुराले नि निर्धारण गर्यो।

मूख्यतः भारतमा उन्नाइसौँ र बीसौँ शताब्दीको आरम्भमा इतिहास लेखनको जुन नयाँ काम शुरु भयो त्यतिखेर इतिहास लेखन भनेको अंग्रेज साम्राज्यवादविरुद्ध राष्ट्रिय मुक्ति संघर्षको निम्ति एउटा सौद्धान्तिक हतियार थियो। अथवा यसो भन्न पनि सकिन्छ कि यो इतिहास लेखनको प्राचिन परम्परा, पुरातन शक्ति र बुद्धिका आधारमा स्वाधिनता र अधिकारको रचना गर्नु रहेको थियो। यस कामले पठकहरूलाई विदेशी आक्रमणकाविरुद्ध चुनौतिका साथ उभिने प्रेरणा दिनुका साथै उनीहरूलाई आक्रमणकारीका अगाडि आत्मसमर्पण गरेर झुक्न दिदैनथ्यो।

जसरी प्राचिन समयमा हामी सर्बश्रेष्ठ थियौ र हामीलाई कसैले हराउनसक्दैनथ्यो र हामी जीवन्त थियौ। त्यसैगरेर भविष्यमा पनि हामी विजय प्राप्त गर्नसक्छौँ भन्ने विश्वास हुन्थ्यो। तर इतिहासप्रतिको यस्तो दृष्टिकोणले विदेशी आक्रमणकाविरुद्ध संघर्ष गर्ने एउटा आत्मविश्वास र नैतिक साहस त दिन सक्थ्यो तर त्यसबाहेक इतिहासलाई हेर्ने वैज्ञानिक दृष्टिकोण दिनसक्दैनथ्यो र दिन पनि सकेन।

तर थोरै मात्र यस्ता इतिहासकारहरू पनि प्रकट भए जसले इतिहास लेखनलाई लिएर केवल तत्कालिक फाइदाका लागि अवैज्ञानिक दृष्टिकोण लाई अपनाएनन्, इतिहासलाई कुनै एक व्यक्तिको शौर्य र साहसका आधारमा, कुनै आकस्मिक चमत्कारका आधारमा, आत्मगौरवको नाममा अन्धराष्ट्रवादी मात्र भएर होइन की ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट इतिहासलाई हेर्ने र लेखन गर्ने काम गरे। शोषकहरूको आँखाबाट नभएर आमशोषित, उत्पीडित जनताको आँखबाट व्याख्या र विश्लेषण गर्ने, उत्पादन पद्धति र त्यसका आधारमा विकास भएको उत्पादन शक्ति र उत्पादन सम्बन्धका आधारमा हेर्ने कोशिस गरे। ती मध्ये एक अति नै उत्कृष्ट काम श्रीपाद अमृत डाँगेले आफ्नो पुस्तक ‘आदिम साम्यवाददेखि दासप्रथासम्मको इतिहास’मा गरेका छन्। डाँगे भारतीय कम्युनिष्ट पार्टीका पूर्व महासचिव पनि हुन्।

डाँगेको पुस्तक ‘आदिम साम्यवाद देखि दासप्रथा सम्म’ सन् १९४२ मा उनी भारतीय स्वतन्त्रता संग्रामको क्रममा जेलमा परेको समयमा लेखिएको थियो। तर विभिन्न प्राविधिक कारणहरूले गर्दा पहिलो हिन्दी संस्करण सन् १९५२ मा प्रकाशित भयो। यसैको पुस्तकको वैचारिक धरातलका आधारमा नेपालमा पनि अरु उपन्यास तथा पुस्तकहरू लेखिएका छन्।

जसमध्ये मोदनाथ प्रश्रितको सुप्रसिद्ध उपन्यास ‘देवासुर संग्राम’ पनि एक हो। पुस्तकको नेपाली अनुवाद भने गोपीरमण उपाध्यायले गरेका छन्। पुस्तक १५ अध्यायमा बाँडिएको छ। जसमा यस भू–क्षेत्रमा विकास भएको सामाजिक व्यवस्थाको जन्म, विकास र अन्त्य र नयाँ सामाजिक व्यवस्थाको उत्पत्ति कसरी भयो भन्ने ऐतिहासिक भौतिकवादी विश्लेषणबाट जानकारी दिइएको छ। पुस्तक विषेशतः यस भू–क्षेत्रमा प्राचिन समयदेखि बसोबास गर्दै आएका आर्य जातिको सामाजिक उत्पादन पद्धति र जीवनशैलीको बारेमा यथेष्ट जानकारी दिन सहायकसिद्ध भएको छ।

आर्यहरूले आदिम साम्यवादी युगका दुई चरण जङ्गली र बर्बर अवस्थामा कसरी जीवनयापन गर्थ्ये, त्यतिखेरको परिवारको स्वरुप कस्तो थियो तथा शासनसत्ताको अवस्था कस्तो थियो र सभ्ययुगको पहिलो चरणको दास व्यवस्थासम्म आईपुग्दा परिवारको स्वरुपमा आएको परिवर्तन, निजी सम्पत्तिको उत्पत्ति, वर्गको उत्पति राज्यको उत्पत्ति, दर्शन, राजनीति, कला साहित्यमा कसरी वर्गिय सत्ता स्थापित हुँदै आयो भन्ने कुरा वेद, उपनिषेद, स्मृतिहरू, पुराणहरू, पौराणिक कथा महाभारत समग्रमा वैदिक साहित्यको र बौद्ध धर्मका त्रिपिटक, जातक, जैन धर्मका ग्रन्थ लाई आधार बनाई इतिहासको भौतिकवादी विश्लेषणका गरिएको छ।

पुस्तकमा लेखकले हिन्दु साहित्यमा प्रयोगमा आइरहेका विभिन्न प्रकारका यज्ञ, ब्रह्रम र दान जस्ता क्रियाकलापको उत्पति हुँदाको अर्थको बारेमा विश्लेषण गरिएको छ। कसरी सामूहिक उत्पादन पद्धति, त्यसको वितरण र उपभोग तथा वितरण बाट बचेको स्रोतसाधनहरू पुनःवितरण को सामूहिक प्रक्रिया विस्तारै शाषकहरू अथवा अहिलेको समयमा धनीहरूको दया, इच्छा र सहयोगको रुपमा रुपान्तरित हुँदै आयो भन्ने कुरा सान्दार तरिकाले देखाएका छन्। यस भू–क्षेत्रमा बसोबास गर्ने आर्यहरूको गणगोत्र, कविलाईतन्त्र, साम्य संघको सामाजिक, आर्थिक र कुल संगठको बारेमा विस्तृतमा चर्चा गरिएको छ।

आदिम साम्यसंघमाबाट समाजको विकासको गति अगाडि बढ्नेक्रममा विवाह पद्धति, मातृसत्ताको अन्त्य र महिला दासताको उदय, गणयुद्धहरूको संगठन र युद्धबाट प्राप्त सम्पत्तिको उपयोग र वितरण, उत्पादन र जनसंङ्ख्या बृद्धिका कारण भएको श्रमविभाजन, वर्ण(जात) व्यवस्थाको उत्पतिको बारेमा गज्जबको विश्लेषण छ। पुस्तकमा धर्महरूको उत्पत्ति, गणसंघमा शासनसत्ताको उत्पति र विकासको बारेमा पनि प्रशस्त चर्चा पाइन्छ। एउटा गणले अर्को गणलाई अथवा एउटा जातिले अर्को जातिमाथि आक्रमण किन र के का लागि गर्थे र त्यसको सैन्य संरचना कस्तो हुन्थ्यो ? भन्ने कुरा पनि आर्थिक सामाजिक कुराहरूलाई आधार बनाएर व्याख्या गरिएको छ।

विशेषत यस भू–क्षेत्रमा दास प्रथाको उदय र महाभारतको युद्ध दासमालिकहरूको युद्ध र गणसंघको युद्धको रुपमा दास प्रथाको अन्त्यतिर भएको कुरा स्पष्ट देखाइएको छ। त्यतिखेर विकास हुँदै गरेको निजी सम्पत्तिमा आधारित परिवारको संरचना, सम्पत्ति सम्बन्ध, ग्रामिण पारिवारिक समाज र शिल्पकारितामा हुँदै गरेको विकासको आधार, महाभारतको युद्धसँगै दास प्रथाको ओरालो र नयाँ सामन्ती शक्ति र राज्यहरूको उत्पतिका आधारहरूमा आएर पुस्तक टुङ्गिएको छ।

यो पुस्तक समाज विकासक्रमको गतिलाई बुझ्न एकदम सरल र अत्यन्तै महतवपूर्ण छ। यसले समाज विज्ञानको नियमलाई सरल भाषाशैलीमा व्यक्त गरेर अत्यन्तै शसक्त वैचारिक हतियारको भूमिका निर्वाह गरेको छ। यहाँनिर एउटा प्रश्न उठ्न सक्छ, आजको विज्ञान र प्रविधिको तीव्र विकास भइराखेको समयमा प्राचिनकालको विवाह संस्था कस्तो थियो? परिवारको स्वरुप कस्तो थियो? सामाजिक सम्बन्धहरू कस्ता प्रकारका थिए ? सम्पत्ति सम्बन्ध कस्तो स्वरुपमा थियो? वर्गको उद्भव र विकास कसरी भयो? शासनसत्ताको उद्भव र स्वरुपको बारेमा अध्यान गर्नु समयको बर्बादी हो। यसमा अल्झनु के आवश्यक छ र ? तर वास्तवमै यो प्रश्नको उत्तर दिनु अनिवार्य छ र इतिहासको अध्यायन किन अत्यन्तै महत्वपूर्ण छ भन्ने कुरा प्रष्ट पार्नुपनि जरुरी छ।

अझ परिवारको उत्पति र विकास, यसका विभिन्न स्वरुपहरूको बारेमा, निजी सम्पत्तिको उत्पति र विकासको बारेमा, पितृसत्ताको उत्पति र विकासको बारेमा र यिनी सबैलाई प्रसय दिने शासनसत्ताको बारेमा यसको जन्मदेखिको विकास क्रमलाई सही ढङ्गबाट बुझन सकेनौँ भने हामी सही र समान निष्कर्षमा पुग्न सक्दैनौँ र आजका समस्याहरूको हामी सही तरीकाले हल नै गर्न सक्दैनौँ। त्यसैले आज जति पनि सामाजिक समस्याहरू छन् र तिनको सवाल प्रत्यक्ष रुपले शासनसत्तासँग जोडिएको छ भने हामी त्यसको जरोमा पुग्नै पर्छ र त्यो जरासम्म पुग्ने बाटो भनेकै हामीसँग भएको पुरानो साहित्य हो र त्यसको ठिक तरीकाले अध्यानको लागि हामी ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मात्रै सही बिश्लेषण र निष्कर्षमा पुग्न सक्छौँ।

यसै सन्दर्भमा लेनिनको एउटा भनाई राख्नु उपयुक्त होला। लेनिनले सन् १९१९ मा स्वेर्दलोव विश्वविधालयमा विद्यार्थीलाई दिएको एउटा भाषणमा भनेका थिए– ‘शासनसत्ताको प्रश्न एकदमै जटिल छ पूँजीवादी विद्धानहरू र लेखकहरूले यस प्रश्नलाई अझै उल्झाई दिएका छन्। यसैकारण जसले राज्यसत्ताको प्रश्नलाई गम्भीर र समस्याका रुपमा बुझ्न चाहान्छ या यस विषयमा आधिकारिक ज्ञान आर्जन गर्न चाहान्छ भने त्यसले हरेक दृष्टिकोणबाट यस विषयको अध्यायन गर्नुपर्छ। यदि राज्यसत्ताको प्रश्नलाई हरेक दृष्टिकोणबाट अध्यान गरिएन भने यसलाई स्पष्टरुपमा केही बुझ्न नै सकिँदैन। शासनसत्ताको प्रश्न राजनीतिको आधारभूत प्रश्न हो। त्यसैकारण बारम्बार यस समस्यासँग हामीले सामना गर्नैपर्छ। वर्तमान अवस्थाका भारी उथलपुथल र संघर्षका दिनहरूमा मात्र नभएर शान्तिकालिन अवस्थामा पनि राजनीतिक र आर्थिक समस्याको विवेचना गर्ने प्रसंगमा समेत शासनसत्ताको प्रश्न उठिहाल्छ। र दैनिक अखबारका पानाहरूमा पनि यो प्रश्न उठिहाल्छ।’

पूँजीवादी विज्ञान र विचारका प्रतिनिधिहरूले यो शासनसत्ताको प्रश्नलाई सधैँ धार्मिक प्रश्नसँग मिसाएर प्रस्तुत गरेका छन्। समाज विज्ञानले कुनै पनि समस्याको विश्वासनिय ढंङ्गबाट समाधान गर्नका लागि सबभन्दा आवश्यक विषयवस्तु भनेको राज्यको मूलका रुपमा रहेको ऐतिहासिक सम्बन्धलाई सुस्पष्ट रुपमा देख्न सक्नुपर्छ। यसैका माध्यमबाट वास्तविक समस्याहरूको ठिक दृष्टिकोणबाट हर्ने पद्धतिको विकास हुन्छ। यस पुस्तकमा खास गरेर प्रारम्भिक चरणको साम्यवादी युग(संघ) को उत्पादन र वितरण प्रणाली, विवाह र कुटुम्ब सम्बन्धका बारेमा सान्दार ढङ्बाट विश्लेषण गरिएको छ। खासमा युद्धहरू किन हुन्छन् ? एक प्रकारको युद्ध र अर्को प्रकारको युद्धमा के फरक हुन्छन् ? वर्ग भनेको के हो? शासनसत्ताको अर्थ के हो ? एक प्रकारको शासनसत्ता र अर्को प्रकारको शासनसत्तामा के अन्तर हुन्छ ? युद्धलाई सदाका लागि अन्त्य गर्ने उपाय के होला ? अथवा युद्धलाई रोक्ने उपाय के होलान्? के हरेक युगमा मानिसको समाजका लागि शासनसत्ता र सरकारको आवश्यकता परिरहेको थियो वा परिरहनेछ, गरिबीको समस्यालाई कसरी हर्ने र हल गर्ने भनेर महिन ढङ्गबाट विश्लेषण गरिएको छ।

यसै सन्दर्भसँग जोडेर महाभारतको युद्धको कारण र स्वरुप कसरी तत्कालिन उत्पादन पद्धति भित्र विकास भइरहेको उतपादक शक्ति र उत्पादन सम्बन्ध बीचको संघर्षको परिणाम हो भन्ने कुरा थाहा पाउन सकिन्छ। मुलतः यस कृतिको अध्यानबाट आदिम साम्यवादी संघको उत्पति र विकास, वर्गको उत्पति, दासप्रथा र दास राज्यहरूको उत्पतिको बारेमा जानकारी पाइन्छ। उत्पादनको आदिम सामूहिक प्रणाली र त्यसको विकासक्रममा कायम रहेको धार्मिक र वैचारिक आवरणको सम्बन्धमा विचार गरिएको छ।

उत्पादक शक्तिको विकाससँगै श्रमविभाजन र त्यसबाट जात व्यवस्थाको उत्पति र कसरी यो वंशनुक्रम अनुसार हुने अवस्थाको निर्माण भयो भन्ने कुरा पनि भौतिकवादी दृष्टिकोणका आधारमा व्याख्या गरिएको छ। कसरी यस क्षेत्रमा विकास भएको दास व्यवस्था संसारको अन्य क्षेत्रको भन्दा फरक थियो विषेशतः रोम र युनानको भन्दा भनेर प्रष्ट भइन्छ। यस क्षेत्रको शिल्पकारीता र कृषिको स्वरुप र समानताको बारेमा स्पष्ट पारिएको छ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट यो भू–क्षेत्रमा विकास भएको इतिहासको आदिमसाम्यवादी व्यवस्थादेखि दास प्रथासम्मको सम्पूर्ण र सही रुपरेखा प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma