काठमाडौं। श्रीलंकामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्।
बीबीसीका अनुसार उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा पठाएका छन् । देशमा अभूतपूर्व आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका थिए।
हाल श्रीलंका सरकारले देशमा आपतकाल लागू गरेको छ। श्रीलंकाको मन्त्रिपरिषद्ले देशको बिग्रँदै गएको आर्थिक अवस्थालाई सम्हाल्न नसक्दा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएको जानकारी दिएको छ। उनको राजीनामासँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ।
राजापाक्षेले आफ्नो राजीनामाले देशको वर्तमान आर्थिक संकट अन्त्य हुने हो भने आफू त्यसका लागि तयार रहेको बताएका थिए। श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको चरम अभाव छ। श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकासँग डलरको ठूलो अभाव छ। त्यसैले अत्यावश्यक वस्तु पनि आयात गर्न पाएका छैनन्।
देशमा सरकारविरुद्ध चर्को प्रदर्शन भैरहेको छ। विगत एक महिनादेखि कोलम्बोमा प्रदर्शन गरिरहेका मानिसहरूले सरकार र मन्त्रिपरिषद्को राजीनामा माग गरिरहेका छन्।
प्रतिक्रिया