Developed By Kuldeep Sharma

May 19, 2022

जनताले दिए बराबर मत : कुटाइखानेले चिट्ठामा जिते, कुट्ने पराजित

काठमाडौं । धादिङमा वडा अध्यक्षका दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाद्वारा विजयी घोषणा गरिएको छ। निलकण्ठ नगरपालिका-६ को अध्यक्षमा दुई प्रत्यासीको बराबर मत आएपछि गोलाप्रथाद्वारा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ र माओवादी केन्द्रका लक्ष्मण रम्तेलले समान ७३८ मत प्राप्त गरेका थिए। गोलप्रथा गर्दा कांग्रेसका श्रेष्ठ विजयी भए। मतगणना स्थलमा भने दुवै उम्मेदवार उपस्थित थिएनन्।

गत वैशाख २९ गते राति मौन अवधिको समयमा झडप हुँदा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ घाइते भएका थिए। उनको टाउको र मुखमा गम्भीर चोट लागेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनी अहिले पनि काठमाडौंमा उपचार गराइरहेका छन्।

कांग्रेसले माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको उजुरी गरेपछि अर्का प्रत्यासी रम्तेल भने पक्राउ परेका थिए। निलकण्ठ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञावलीका अनुसार मत बराबरी आएपछि रम्तेललाई सुरक्षा निकायको रोहबरमा मतगणना स्थलमा ल्याइएको थियो। श्रेष्ठले भने आफ्नो प्रतिनिधिलाई गोला झिक्न सहमति दिएका थिए। रम्तेल वैशाख ३० गते भोट हालेपछि पक्राउ परेका थिए।

श्रेष्ठ एम्बुलेन्समा चढेर भोट हाल्न आएका थिए। लगत्तै उनी उपचारका लागि फर्किएका थिए। निलकण्ठमा सत्तागठबन्धनका दलबीच तालमेल थियो। जसमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार उठेका थिए।

जसमा मेयरमा कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन्। उनले १४ हजार ५७५ मत प्राप्त गरेका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ९०९४ मत ल्याइन्। उपमेयरमा माओवादीका दिपक विश्वकर्मा ९ हजार ६९३ मत ल्याएर विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma