Developed By Kuldeep Sharma

March 27, 2024

तीन विद्यालयका प्रिन्सिपललाई शिक्षामन्त्रीको आग्रह : भर्ना प्रक्रिया पारदर्शी बनाउनु

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आज तीनवटा स्कुलका प्रिन्सिपलहरुलाई आग्रह गरेकी छन्। उनले भर्ना प्रक्रिया पारदर्शी बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी हुन्।

नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान भएका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विधि र प्रक्रियालाई विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेको बताइएको छ।

‘तपाईंहरूका विद्यालयले भर्ना खोलेपछि धेरैले भनिदिनु पर्‍यो भनेर दबाब दिइरहनु भएको छ। मलाई जानकारी भएअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासक र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे’ मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ । भनसुन र पहुँचका आधारमा हुने भर्ना बन्द गर्नुहोला।’

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए।

मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन्। ‘गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुहोला,’ मन्त्री श्रेष्ठले भनिन्।

शिक्षामन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत आग्रह गरेकी छन् ।

छलफलमा सेन्ट जेभियर्स स्कुलले ४ वर्ष अघिदेखि गोलाप्रथाबाट भर्ना लिन थालेको बताएको छ । सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तर्क्रियाका आधारमा भर्ना लिइएको र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलले योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma