काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेभित्र व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याइएको वा आफन्तले पठाएका मोबाइल सेटहरु एमडीएमस प्रणालीमा दर्ता गर्न अन्तिम सूचना जारी गरेको छ।
प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले निजी प्रयोजनका लागि आफ्नो साथमा ल्याएका मोबाइल सेटहरुको आइएमइआइ नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन अनुसार प्रज्ञापनपत्र लिन भनेको छ।
यस्तो प्रावधान एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा २०७९ भदौ महिनाभन्दा अगाडि प्रयोग नभएका मोबाइलको हकमा लागू गराएको हो।
प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्ट (एमडीएमएस) पूर्ण रुपमा पुस १५ देखि कार्यन्वयनमा आउने र त्यसभित्र दर्ता नभएका मोबाइल सेट नचल्ने जानकारी समेत दिएको छ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्रिी वितरण तथा चोरी नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागु गर्न लागेको हो। चोरी भएका तथा हराएका मोबाइल सेटको बारेमा प्राधिकरणले यो प्रणाली यसअघि लागु गरेकोमा अब पुस १५ देखि सबैमा लागू हुने भएको छ।
नियम अनुसार भन्सार घोषणा नभएका मोबाइल फोन सेट पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सन्चालनमा समेत रोक लगाइने भन्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्रसहित दर्ता गर्न भनेको छ।
प्रतिक्रिया