Developed By Kuldeep Sharma

May 20, 2022

जुम्लामा एमाले शून्य, ८ मा कांग्रेसले ५ जित्यो

काठमाडौं। स्थानीय तहको निर्वाचनमा जुम्लामा नेकपा एमाले निल भएको छ। आठ वटै पालिकाको मत परिणाम अनुसार पाँच पालिकामा नेपाली कांग्रेसले जित्यो भने दुई पालिकामा माओवादी र एक नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

गुठीचौर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भयो। यो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा निर्वाचित भए। बुढाले १ हजार ७७५ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका जनक थकालीले १ हजार ६०२ मत र नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले १ हजार ३३६ मत प्राप्त गरे। २०७४ सालको चुनावमा हरिबहादुर भण्डारी यहाँबाट भारी मतसहित अध्यक्ष पदमा निर्वाचित भएका थिए। यो चुनावमा भने भण्डारी तेस्रो भए। यो माओवादीको गढ भएको पालिका थियो।

उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन्। उनी १ हजार ५०३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १ हजार २१४ मत प्राप्त गरिन्।

चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भए। नेपाली कांग्रेसको गढ मानिएको उक्त नगरपालिकामा कांग्रेसकै बागी उम्मेदवार कठायतले २ हजार ४०३ मत ल्याएर विजयी भए।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले २ हजार ३४१ मत ल्याए। त्यस्तै नेकपा एमालेका धर्मेन्द्र रोकायाले १ हजार ५७० मत ल्याए। उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का विजयी भइन्। उनले २ हजार ८०८ मत प्राप्त गरिन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका भिमबहादुर थापाले एक हजार ६८६ मत पाए भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार पूर्णिमा कामीले १ हजार ६३३ मत ल्याइन्। चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन्।

पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पुर्णसिंह बोहरा २ हजार ७६८ मत प्राप्त गरी अध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी हरिबहादुर बुढाले २ हजार ६६८ मत प्राप्त गरे। उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी जनमाया रोकाया २ हजार ७५४ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शान्ति बुढाले २ हजार ४६३ मत प्राप्त गरिन्।

सिंजा गाउँपालिकामा भने माओवादीका अध्यक्षमा पूर्णप्रसाद धिताल १ हजार ९४९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३९ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादी केन्द्रकी रजनकला शाहीले १ हजार ९५६ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सितली रोकायाले १ हजार ६९ मत प्राप्त गरिन्।

कनाकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका दामोदर प्रसाद आचार्यले २ हजार ८०७ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५६२ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढा २ हजार ३०० मत प्राप्त गरी विजयी हुँदा उनकी प्रतिस्पर्धी माओवादीकी रिता खत्रीले १ हजार ९४५ मत प्राप्त गरिन्।

हिमा गाउँपालिका नेपाली कांग्रेसका अध्यक्षमा लक्ष्मण शाही विजयी भए। उनले १ हजार ८७२ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकै सुर्पना शाहीले १ हजार ५१८ मत प्राप्त गरी विजयी भइन्।

निर्वाचित शाही नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव हुन्। पालिकामा ४ हजार ८६७ मत खसेको थियो। ०७४ को स्थानीय तहको निर्वाचिनमा अध्यक्षमा माओवादीका रजबहादुर शाही र उपाध्यक्षमा माओवादीकै हिमाली रोकाया निर्वाचित भएका थिए।

तातोपानी गाउँपालिकामा माओवादी केन्द्रको गढ भत्काउँदै कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भए। चौलागाईंले २ हजार ३२० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी माओवादीका वीरबहादुर कुँवरले १ हजार ८०६ मत प्राप्त गरे। उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रका रेवती रावल (रसाइली) विजय भइन्। उनले १ हजार ७५८ मत प्राप्त गरिन्। कांग्रेसकी विन्दु अधिकारीले १ हजार ३१२ मत प्राप्त गरिन्। तातोपानीमा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगादेवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिए।

तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भए। रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मत अन्तरले पछि पार्दै जित हासिल गरे। उनले १ हजार ९३६ मत प्राप्त गरे। उपाध्यायले १ हजार ९१५ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भइन्। उनले २ हजार ४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सुस्मा श्रेष्ठले १ हजार ८०७ मत प्राप्त गरेकी छन्।

२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेका रतननाथ योगी अध्यक्षमा विजयी भएका थिए। जुम्लामा २०७४ सालको स्थानीय तह निर्वाचनमा एक नगरपालिका र तीन पालिकामा कांग्रेसले जितेको थियो। त्यस्तै माओवादीले तीन पालिकामा जित्दा एक पालिकामा एमालले जितेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma