Developed By Kuldeep Sharma

July 31, 2022

नेपाली कथा लेखकलाई भाग लिन १२खरी बुक्सको आह्वान

काठमाडौं। बाह्रखरी मिडिया प्रा.लि. अन्तर्गतको १२खरी बुक्सले चौथो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ।

आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिँदै १२खरी बुक्सले यस्तो घोषणा गरेको हो। यस खुला प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ। नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरूको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यकासाथ विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको १२खरी बुक्सले यस वर्ष पनि कथा आह्वान गरेको हो।

प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा छनोट गरेर निर्णायक मण्डललाई उपलब्ध गराउनेछ। ती ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा कथा छान्ने र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने बताएको छ। यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहने छन्।
नेपाली कथा लेखनको क्षेत्रमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा गत वर्ष पनि पाँच सयभन्दा बढी कथाकारले भाग लिएका थिए। यस वर्ष पनि अझ उत्साहकासाथ व्यापक सहभागिता हुने आयोजकले विश्वास लिएका छन्।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिकासाथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ। सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिनेछ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी भदौ १४ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना इमेल ज्ञद्दपजबचष्दययपक२नmबष्।िअयm मा पठाइसक्नुपर्नेछ। कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते आइतबार सार्वजनिक गरिने छ।

‘डिशहोम बाह्रखरी कथा’ नाम दिइएको यस प्रतियोगिताका प्रमुख प्रायोजकका रुपमा डिशहोम रहेको छ।

प्रतियोगिताको सर्त तथा नियमहरु :
– कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। अन्य भाषामा लेखिएका अप्रकाशित मौलिक कथालाई नेपालीमा अनुवाद गरी पठाउन सकिनेछ । अनुवाद लेखक आफैँले गर्नुपर्नेेछ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन पाइनेछैन।
– निर्णय प्रक्रियामा कथाको भाषिक शुद्धतालाई पनि महत्त्व दिइनेछ।
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ। नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ।
–‘१२खरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न ‘१२खरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ।
– कथा कम्तीमा १ हजार ५ सय र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma