Developed By Kuldeep Sharma

December 23, 2022

१९ वर्षपछि थुनामुक्त भएका चार्ल्स शोभराजको यस्तो छ अपराध यात्रा

काठमाडौं। बिकिनी किलरका रूपमा कुख्याती कमाएका चार्ल्स शोभराजको जीवन निकै अनौठो र रहस्यमय छ। अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। बाल्यकाल फ्रान्समै बिताएका उनले पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधिमा संलग्न भए।

उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए। पेरिसको एक घरमा गरेको चोरी उनको पहिलो अपराध थियो। उनकै सहमतिमा लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’ नामक पुस्तकमा सो कुरा उल्लेख छ।

सोही अपराधमा जेलमा रहँदा अन्डरवर्ल्डसमूहका सदस्य फिलिक्स इसकोन्जीसँग भेटे । जेलबाट दुवैजना छुटेपछि त्यहाँको अन्डरवर्ल्डसमूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे सूचना बटुले । त्यसपछि एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा संलग्न भए।

यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे। पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा भारतको मुम्बई आए । पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए । भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको पुस्तकमा उल्लेख छ  तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन्।

मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले। जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे। तर, एक वर्षको बीचमा नै उनी होटेल अशोकामा रहेको सुन पसल चोरीमा समातिए। तैपनि उनी जेलबाट भाग्न सफल भएकोमा तत्कालै प्रहरीले समातेको थियो । आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए।

त्यहाँबाट धरौटीमा रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे। काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए । चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए। त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए । त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो।

चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए। जहाँ उनका भाइ एन्ड्री बस्थे। इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो। पछि ग्रिसमा पक्राउ परे । तर, शोभराजसँग प्रहरीबाट उम्कने अनेकौँ उपाय थियो । त्यहाँबाट पनि उनी भाग्न सफल भए। उनीसँगै प्रक्राउ परेका उनका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो।

पछि शोभराज थाइल्यान्ड पुगे । थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन्। त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे।

त्यहाँ उनी लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए। उनीबाट लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामा नै मच्चियो। हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए।

त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो। त्यसपछि उनीहरू मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे। तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन्। यो सन् १९७५ को कुरा हो। सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए। नेपालमा उनीहरूले दुई विदेशी नागरिकको हत्या गरे।

नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो। अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड भएको बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ गर्‍यो।

उक्त घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो । तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्‍याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो।

भारतको एक ठूलो मानिने तिहाड जेललाई उनले आफ्नो दरबारजस्तो बनाए। त्यहाँ उनलाई सम्पूर्ण सुविधा थियो। जेलका सबै कर्मचारीलाई उनले रिझाएका मात्र थिएनन्, शोभराज भनेपछि जेलरले समेत आदर गर्ने गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ। यसै क्रममा जेलमा उनको जन्मदिन मनाउने कार्यक्रम भयो। कैदीदेखि जेलरसम्म सबैलाई उनले पार्टी दिए। अनौठो के भने जन्मदिनको फलफूलमा बेहोस हुने औषधि मिलाइएको थियो।

त्यसरी सबैलाई बेहोस बनाएर उनी भारतको जेलबाट भाग्न सफल भएका थिए। लगत्तै उनी गोवामा पक्राउ परे र १० वर्ष जेलजीवन बिताए । त्यतिखेरसम्म उनी अन्तर्राष्ट्रियस्तरमै मोस्ट वान्टेड अपराधीका रूपमा कहलिसकेका थिए।

त्यतिवेला शोभराजलाई सुपुर्दगी गर्न थाइल्यान्डलगायतका देशले भारतलाई पटक–पटक आग्रह गरेका थिए। नेपालमा पनि सुपुर्दगीका लागि आग्रह गर्ने छलफल भएको थियो। तर, नेपाल सरकारले भारतलाई पत्राचार भने गरेन।

भारतको जेलबाट छुटेपछि उनी फ्रान्स गए र त्यहाँबाट भियतनाम पुगेर सामान्य नागरिकका रूपमा पाँच वर्ष बिताए। त्यसपछि भियतनामको आफ्नै पासपोर्ट लिएर उनी नेपाल आए।

काठमाडौंको एक क्यासिनोमा देखेपछि प्रहरीले ०६० असोजमा पक्राउ गरेको हो। अब नेपालको जेलबाट मुक्त भएपछि एक कुख्यात अपराधीको जीवनको नयाँ अध्याय सुरु भएको छ।

उनीविरुद्ध थाइल्यान्डलगायत कतिपय देशमा गम्भीर प्रकृतिका मुद्दा अझै बाँकी छन्। नेपालमा पक्राउ परेका वेला थाइल्यान्डले समेत उनलाई सुपुर्दगीका लागि चासो दिएको प्रहरी अधिकारी बताउँछन्। तर, सुपुर्दगी सन्धि नभएकाले फ्रान्समा नै निष्कासन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma