Developed By Kuldeep Sharma

March 25, 2024

बाजुराका अन्तरलिङ्गी इसान जसले चिर्दैछन् समाजको विभेद

मेनुका कार्की, काठमाडौं। अरूभन्दा ‘फरक’ भनेर चिनिन बाध्य बनेका व्यक्ति हुन्, इसान रेग्मी। उनी जन्मिँदा छोरी भएर जन्मिए। साथीहरू पनि छोरी मान्छे नै भए। उनलाई घरमा पनि छोरी भनेरै हुर्काइयो। तर, किशोरावस्थामा हुने शारीरिक परिवर्तन भने ‘किशोरी’को जस्तो नभएर ‘किशोर’को जस्तो हुन थाल्यो।

महिनावारी भएन, स्तन पनि अन्य साथीको तुलनामा बढेन, उनको आवाज धोत्रो भयो अनि दाह्रीजुँगा आउन थाल्यो। शारीरिक परिवर्तनसँगै समाजमा उनलाई हेरिने दृष्टि पनि परिवर्तन हुन थाल्यो। उनको त्यस्तो शारीरिक परिवर्तन समाजले परिभाषित गरेको ‘महिला’ र ‘पुरुष’ भित्र अटाउन सकेन। उनलाई ‘पूर्वजन्मको पाप’को रूपमा समाजले हेर्न थाल्यो। उपचार गर्यो भने ठिक हुन्छ कि भनेर उपचार पनि गरियो। तर, अन्तरलिङ्गी हुनु भनेको रोग नै थिएन, उपचारले निको हुने कुरै भएन।

विभेद भोग्नुको विकल्प नै भएन। उपचार गरेरपनि निको नभएपछि उनी विभेदकै कारण मानसिक रूपमा विक्षिप्त बन्दै गए।

‘मलाई पनि संसारमा म मात्र यस्तो रहेछु। मलाई किन भगवानले जन्माएको होला भन्ने लाग्यो।’, इसानले भने। विकसित भनिएको ठाउँमा त अहिले सम्म यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको कुरा सुनिँदैन भने त्यो बेला बाजुराजस्तो दुर्गम गाउँमा यसबारे कसैलाई थाहा हुने कुरै भएन।

उनी भन्छन्, ‘म आफैँ पनि अन्योलमा थिएँ। जुन हिसाबले म मा शारीरिक विविधताहरू देखियो त्यसको बारेमा पढ्नको लागि न कुनै शैक्षिक सामग्री थियो, न कुनै रेडियो, टेलिभिजन र पत्रिकामा नै छापिन्थ्यो।’

अहिले यस समुदायको बारेमा केहि कुराहरू हुन थाले पनि अन्तरलिङ्गीको बारेमा भने अझै धेरै नलेखिएको उनले बताए। ‘यौनिक तथा लैंगिक अल्पसंख्यक भित्र पर्छ भन्ने बाहेक खासै धेरैलाई यसबारे थाहा पनि छैन,’ उनले भने, ‘सबैले मलाई छुट्टै किसिमको व्यवहार गर्थे। यो त छोरा पनि होइन छोरी पनि होइन भन्थे। तर, मैले आफूलाई छुट्टै हो भन्ने महसुस नगरेपनि मान्छेले गरेको छुट्टै व्यवहारले म छुट्टै हो भन्ने बनाइदियो।’

त्यतिबेला अहिलेको जस्तो सूचनाको स्रोत र साधन प्रयोगमा थिएनन्। यसबारे कुरा गर्ने वातावरण त अहिले पनि धेरै ठाउँमा देखिदैन।

उनले समाजले गरेको विभेदको सामना गर्न नसकेर आत्महत्याको प्रयाससमेत गरे। तर राम्रै भयो त्यो प्रयास असफल भयो। उनी भन्छन्, ‘समाजले बुझ्ला, आफूप्रतिको विभेद घट्ला भन्ने त कुरै भएन। मैले आज भन्दा भोलि झन–झन् विभेद भोग्नुपर्यो। हाम्रो छोराछोरी अरु जस्तो हो र? भन्दै मलाई नै इंगित गरिन्थ्यो।’

उनी १६ वर्षको उमेरमा घर छाडेर जागिर खोज्न थाले। त्यसबेला पनि एकजना साथीले ‘फलानो ठाउँमा तिमीहरू जस्तोको लागि काम गर्ने संस्था छ’ भनेर सुनाए। इसानले पनि त्यहाँ जाने सोचे। उनले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि काम गर्ने संस्थाहरूको बारेमा त्यहि समयमा थाहा पाए। त्यहाँ पनि तेश्रोलिङ्गी, समलिङ्गीहरू भेटे तर, अन्तरलिङ्गी भेटिएनन्। नेपालको बारेमा केहि अभियानकर्ता र समलिङ्गीसँगै तेश्रोलिङ्गी बाहेक उनले अरु भेटाएनन्। अनि भारतमा भएका समुदायबारे उनले अनुसन्धान गर्न सुरु गरे। तर त्यहाँ पनि भेटेनन्। खोज्दा खोज्दै ‘इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिका’ भन्ने एउटा वेवसाइट भेटे। ‘उक्त वेवसाइटमा मैले केहि विवरण फेला पारे। त्यहाँ यस विषयमा अलि धेरै कुरा भएको हो कि जस्तो लाग्यो। त्यहाँबाट धेरै कुरा जान्ने मौका पाएँ’, उनले भने । त्यसपछि उनले आफूलाई अन्तरलिङ्गी भनेर चिनाउन थाले। विस्तारै त्यहि संस्थासँग आवद्ध भएर स्वयंसेवकको रूपमा काम गरे। अन्तरलिङ्गीको मुद्दा आफैँलाई थाहा नभए पनि आफ्नो अनुभव सुनाउनुपर्छ भनेर उनि यसमै लागे।

इसानले तीन÷चार जना साथीहरू भेटे। यसबारे धेरै जानकारी थाहा हुँदै गएपछि उनी काठमाडौं आए। यहाँकै संस्थाहरू सँग जोडिएर काम गर्न थाले। काम गर्दा–गर्दै सन् २०१५ मा एसियामा नै पहिलो अन्तरलिङ्गी भेला हुन लागेको उनले थाहा पाए। यससँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूको आयोजनामा ताइवानमा भेला हुने भएको थाहा पाएसँगै उनी पनि त्यहाँ सामेल हुन पुगे। अन्तर्राष्ट्रिय रूपमै उनले अन्तरलिङ्गी मुद्दा र आन्दोलनको बारेमा जानकारी प्राप्त गरे।

त्यहाँबाट फर्किएपछि उनले सन् २०१६ मा नेपालमै पहिलोपटक अन्तरलिङ्गीको भेला आयोजना गरेको बताए। त्यसमा जम्मा १३ जना अन्तरलिङ्गीहरू सामेल भएका थिए।

केहि समयपछि नेपालमा पनि यसैसँग सम्बन्धित मुद्दाहरूको बारेका बहस हुन थाल्यो। बालअधिकार महासन्धिमा अन्तरलिङ्गी भएका बालबालिकाहरूको रिपोर्ट पनि पठाए। त्यसमा उनीहरूको तथ्याङ्क, जन्मदर्ता, नागरिकता लगायतका विवरणहरु समावेश हुन्थ्यो।

‘अन्तरलिङ्गी व्यक्तिको मुख्य समस्या भनेको स्वास्थ्य पनि हो। बच्चा जन्मिने बित्तिकै उसको लैङ्गिक चिन्ह स्पष्ट भएन भने विभिन्न किसिमको मेडिकल प्राक्टिसहरू हुने गरेको छ। त्यसमा धेरै जटिलताहरू आउने गछनर््। त्यस्तो अवस्था आएमा त्यो बच्चाले आफ्नो शरीरको निर्णय लिनसक्ने र उसले चाहेको खण्डमा मात्र गरिनुपर्छ भन्ने कुराहरू हामीले राखेका थियौं। मेडिकल क्षेत्रमा काम गर्नेहरूलाई तालिम देऊ भन्ने कुराहरू पनि समावेश गरेका थियौ।’, उनले भने।

सन् २०१७ मा अन्तरलिङ्गीहरूको हकहितका लागि काम गर्ने भनेर ‘क्याम्पेन फर चेन्ज’ संस्था नै दर्ता भयो । इसान अहिले यस संस्थाको सह–संस्थापक तथा कार्यकारी निर्देशक छन्।

इसानका अनुसार अन्तरलिङ्गी एक छाता शब्द हो जसले यौन विशेषताको बिबिधतालाई जानाउछ । जुन यौनाङ्गको ढांचा, आन्तरिक र बाह्य प्रजनन ग्रन्थिको विकासको ढांचा, क्रोमोजोमको ढांचा आदिका कारण हाम्रो समाजले महिला र पुरुषको लागि बनाएको परिभाषा अली नमिल्ने उनले बताए। जस्तै– लिङ्ग लिएर जन्मिएको बच्चालाई बालक र यौनी लिएर जन्मिएको बच्चालाई बालिका भनेर चिनिन्छ। तर, त्यसभन्दा बाहेकको ढाँचाको यौनाङ्ग लिएर पनि बच्चा जन्मिन्छन्। त्यसलाई नै अन्तरलिङ्गी विविधता भएको बच्चा भनिन्छ।

कति छ अन्तरलिङ्गी व्यक्तिहरुको तथ्यांक?
अन्तरलिङ्गी व्यक्तिहरुको अहिले सम्म एकिन तथ्यांक छैन्। अन्तरलिङ्गी व्यक्तिहरुलाई कसरी परिभाषित गरिएको छ भन्ने कुराले पनि यसको तथ्यांकको बारेमा जानकारी पाउन सकिन्छ। यौन बिशेषता र प्रजनन अंगको सबै बिबिधतालाई समाबेश गरेर बिज्ञहरुले लगभग ५८ जनामा १ जना अर्थात जम्मा जनसंख्याको १.७५ जनसंख्या अन्तरलिङ्गी हुने गरेको बताएका छन्। यो तथ्यांकलाई संयुक्त राष्ट संघले सन् २०१५ मा जारि गरेको अन्तर लिङ्गी तथ्य पत्रमा समाबेश छ।

कसरि गर्ने अन्तरलिङ्गी व्यक्तिहरुको पहिचान?
अन्तरलिङ्गी यौन बिशेषताको बिबिधता हो। त्यसैले अन्तरलिङ्गीका केहि प्रकारहरु बच्चा गर्भमा हुदै थाह पाउन सकिन्छ। धेरै प्रकार किशोर अवस्थामा थाहा हुन्छ भने केहि प्रकारहरु त्योभन्दा पछि सम्म पनि थाह नहुनसक्छ। यहाँ केहि प्रकारहरु उल्लेख छन् जसबाट अन्तरलिङ्गी व्यक्तिहरुलाई पहिचान गर्न सकिन्छ।
—केहि अन्तरलिङ्गी प्रकार बच्चा गर्भमा रहेको बेला अल्ट्रासाउण्ड गरेर थाह पाउन सकिन्छ।
—केहि प्रकार जुन यौनाङ्गको बिबिधता हो त्यो बच्चा जन्मने बेला थाहा हुन्छ।
—केहि प्रकार किशोरावस्थामा थाह पाउन सकिन्छ जति बेला कुनै व्यक्तिको शारीरिक बिकास हामीले अपेक्षा गरे भन्दा फरक हुन्छ।
—कुनै अरु स्वास्थ्य समस्याले अल्ट्रासाउण्ड गर्दा त्यति बेला पनि केहि अन्तरलिङ्गी प्रकारको पहिचान गर्न सकिन्छ ।
—कसैको लामो समय सम्म बच्चा नभएको खण्डमा उसमा प्रजनन क्षमता छ कि छैन भनेर जाँच्दा त्यतिबेला पनि अन्तरलिङ्गी भनेर पहिचान गर्न सक्छौं।

अन्तरलिङ्गीले भोग्ने चुनौतिहरु
—अन्तरलिङ्गी व्यक्तिहरु र उनीहरुका परिवारहरूले सामाजिक विभेदको सामना गर्छन्।
—सामाजिक विभेदका कारण अन्तरलिङ्गी व्यक्तिहरुले परिवारबाट बहिष्कार, विभेद, लान्छना, हिँसाको सामना गर्नु पर्ने हुन्छ।
—विभेदको कारणले अन्तरलिङ्गी बिबिधता भएका शिशुहरु गर्भपतन, जन्म पश्चात शिशु हत्या हुने घटना देखिन्छ।
—अन्तरलिङ्गी व्यक्तिहरुलाई महिला वा पुरुषको बक्समा फिट गर्नको लागि उनीहरुको सहमति बिना अनावस्यक चिकित्सकीय अभ्यासहरु गर्ने गरिन्छ।
—अन्तरलिङ्गी ब्यक्तिहरुको लैंगिक पहिचान उनीहरु स्वयमलाई छौनोट गर्ने अधिकार नदिएर डाक्टर, परिवारका सदस्यले तोकि दिने गर्छन्। जसले गर्दा कतिपय अवस्थामा यसरि तोकिएको लैंगिक पहिचान उनीहरुको शारीरिक विकास र उनीहरुको आफ्नो लैंगिक पहिचान संग मेल खादैन।

परिवर्तनका लागि के गर्न आवश्यक छ?
—अन्तरलिङ्गी व्यक्तिहरु र उनीहरुका परिवारमाथि हुने सामाजिक विभेदको अन्त्य।
—अन्तरलिङ्गी व्यक्तिहरुलाई लान्छना, विभेद, हिँसारहित पारिवारिक बातावरणको सुनिश्चित गर्नु।
—अन्तरलिङ्गी शिशुको हत्याको अन्त्य हुनुपर्ने।
—गर्भावस्थामा नै लिङ्ग परिक्षण गरि हुने गर्भपतनलाई रोक्नु पर्छ।
—अन्तरलिङ्गी व्यक्तिहरु माथि उनीहरुको जानकारी बिना हुने अनावस्यक चिकित्सा अभ्यासको अन्त्य हुनु पर्ने।
—अन्तरलिङ्गी बच्चाको पहिचान अनुसार उसको जन्म दर्ता हुनु पर्ने साथै अन्तरलिङ्गी व्यक्तिको शारीरिक पहिचान लैंगिक पहिचान अनुसार नमिलेमा त्यसलाई सहजै संशोधन वा परिवर्तन गर्न सक्ने कानुनि प्रावधान हुनुपर्ने।

क्याम्पेन फर चेन्ज
क्याम्पेन फर चेन्ज (CFC) नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूद्वारा गरिएको पहिलो र एकमात्र संस्था हो। यो संस्था नेपालका अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको मुद्दालाई उठान गर्नका लागि स्थापित गरिएको हो। यस संथाले अन्तरलिङ्गी व्यक्तिहरूको मानव अधिकारको मुद्दालाई राष्ट्रिय, क्षेत्रीय, र अन्तर्राष्ट्रिय स्तरमा उठान गर्दै आएको छ। संस्थाले अन्तरलिङ्गी व्यक्तिहरुको लागि एक सुरक्षित र उपयुक्त बातावरणको सिर्जना गर्ने कोसिस गरिरहेको छ।

राज्यसंगको समन्वयन साथै विभिन्न संघ संस्था, र समुदायहरूसँग मिलेर अन्तरलिंगी व्यक्तिहरूको स्थिति पहिचान गरि उनीहरुको अधिकारहरू स्थापना गर्न साथै अन्तरलिङ्गी व्यक्तिहरुको क्षमता अभिविद्धि गर्दै उनीहरुलाइ जागरुक बनाउने र उनीहरुले भोगेका विभेद, असमानताहरुलाइ समाधान गर्नको लागि यस संस्थाले काम गर्दै आइरहेको छ।

यस संस्थाले राज्यलाइ अन्तरलिंगी व्यक्तिहरूको अधिकार संरक्षण र सम्बर्धनको लागि अन्तरलिङ्गी व्यक्तिहरुको मुद्दालाई संघीय, प्रादेशिक र स्थानीय नीति र कानूनमा समाबेश गर्न आव्हान गरेको छ। अन्तरलिंगी व्यक्तिहरूको मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई अध्ययन अनुसन्धान गर्ने, यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धतालाई कार्यन्वयन गर्ने र अन्तरलिङ्गी व्यक्तिहरुको मुद्दालाई मानव अधिकारको दृष्टिकोणबाट सम्बोधन गर्न समेत संस्थाले राज्यसंग अनुरोध गरिरहेको छ।

निर्देशक रेग्मीले आफूले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको जानकारी पाएको बताउँदै अन्तरलिङ्गीबारे जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायतका सामाग्रीको पनि अभाव रहेको बताउछन्। समाजले महिला र पुरुषसंगै पछिल्लो समय यौनिक तथा अल्पसङ्ख्यक भनेर लेखे पनि अन्तरलिङ्गीभित्रको विविधतालाई अझै बुझ्न नसकेको उनको भनाई छ।

त्यस्तै यस विषयमा अधिवक्ता प्रपुशा केसीसंग गरिएको कुराकानीमा उनले बालबालिका सम्बन्धी ऐन, नियमावली, कार्यस्थलमा हुने यौन दुव्यर्वहारसम्वन्धी कानुन, अपराध संहिता, सम्पत्ति, जन्मदर्ता र नागरिकतालगायतका विषयमा कानुनले अन्तरलिङ्गीबारे उल्लेख नगरेको बताइन्।

उनका अनुसार जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ। तर महिला–पुरुष बाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले वयस्क हुँदा मात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिन सक्छन्। उनीहरु वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउनेलगायतका बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गीले गुज्रनु परेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma