Developed By Kuldeep Sharma

June 6, 2022

फेसबुके प्रेमीले जन्मदिन मनाउन बोलाए, सात जनाले सामूहिक बलात्कार गरे

काठमाडौं। बाँकेको बैजनाथ गाउँपालिका-८ का १८ वर्षीय हेमराज थारु र १६ वर्षीया एक किशोरी एक वर्षदेखि फेसबुकमा साथी थिए। किशोरीको गत शनिबार जन्मदिन थियो।

राप्ती गाउँपालिकाकी ती किशोरीलाई हेमराजले जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा बोलाए। सार्वजनिक बस चढेर किशोरी मानखोला पुगिन्।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार दिउँसो घुमफिर गरी साँझ उनीहरूले मानखोलाको फूलबारीमा पुगेर जन्मदिन मनाए। त्यहाँ हेमराजका साथीहरूले मदिरा पनि सेवन गरे। किशोरीलाई समेत मदिरा सेवन गराए। किशोरी मदिराले लठ्ठिएपछि हेमराज, विक्रान्त, निराजन, प्रविण र राजकुमार थारुले बलात्कार गरेको न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार सामूहिक बलात्कारपछि बेहोस भएकी किशोरीलाई मध्यरातमै मोटरसाइकलमा राखेर बाँकेको बैजनाथ-८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फर्ममा लगिएको थियो। त्यहाँ पनि विक्रान्त र निराजनले बलात्कार गरे। बलात्कारपछि बेहोस अवस्थामै भे. ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर नेपालगञ्जतर्फ लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

विश्वनाथ र निर्देशन थारुले मोटरसाइकलको बीचमा अर्धचेत अवस्थामा किशोरीलाई लैजादै गरेको भेटेपछि प्रहरीले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको न्यौपानेले बताए। बलात्कारको अभियोगमा प्रहरीले सातै जनालाई पक्राउ गरेको छ।

किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरूले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन्। उनको बयानकै आधारमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको जनाएको छ। बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको न्यौपाने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma