काठमाडौं। जिल्ला समन्वय समिति (जिसस) दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका नमराज शाही नेकपा एमालेको सहयोगमा प्रमुखमा निर्वाचित भएका हुन्।
एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत प्राप्त गरिन्। उपप्रमुखमा एमालेका केशवबहादुर शाही ११ मत ल्याएर विजयी भए। उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) शान्ति शाहीले १० मत पाएकी छिन्। सदस्यहरूमा भने मिश्रित नतिजा आएको छ।
२०५८ साल देखि २०६१ सालसम्म माओवादी ज्यादतीका कारण घरबार छोडेर विस्थापित भएका कांग्रेस जिल्ला उपसभापति शाही इमान्दार नेताको रुपमा चिनिदै आएका छन्। २०४६ सालदेखि नै कांग्रेसमा आबद्ध भएका शाही आफ्नै दलभित्रको समूहका कारण हालसम्म सरकारी लाभको पदमा पुग्न पाएका थिएनन्।
२०७४ सालको निर्वाचनमा आठबीस नगरपालिका-७ बाट नेपाली कांग्रेसको वडाअध्यक्षको उम्मेदवार बन्न चाहेपनि उनले टिकट पाएनन्। यसपटक उनले जिसस प्रमुख बन्नकै लागि वडा सदस्यमा उम्मेदवारी दिएका थिए भने उनी विजयी पनि भए। जिसस प्रमुख बन्न खोज्दा पार्टी भित्रैकाले असहयोग गरेको भन्दै उनले एमालेसँग सहकार्य गरेर गठबन्धनलाई चुनौती थिए। गाउँ कार्य समिति, क्षेत्रीय प्रतिनिधि, दुईपटक क्षेत्रीय सदस्य भइसकेका नेता शाही यसपटक महाधिवेशन प्रतिनिधिमा लडेपनि पराजित भएका थिए।
शाहीलाई जिससमा स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले साधारण सदस्यता समेत नरहनेगरी कारबाही गरेको छ।
प्रतिक्रिया