Developed By Kuldeep Sharma

June 21, 2022

आजको मौसम : देशैभर नै वर्षाको सम्भावना

काठमाडौं। प्रदेश–१ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आज उक्त प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

देशका विभिन्न स्थानमा विहानैबाट वर्षा भइरहेको छ। प्रदेश १ का केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज बिहान प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश–१, वाग्मती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ का केही र मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल देशको प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma