Developed By Kuldeep Sharma

June 5, 2022

ओलीमाथिको आलोचनाको शिकार बने घनश्याम, एमालेमा सकिएकै हो आलोचनात्मक संस्कृति?

काठमाडौं। केही दिनअघि एमाले नेता घनश्याम भुसालले एमालेमा कोत पर्व हुने भन्दै असन्तुष्टि उत्कर्षमा पुग्ने र यसले नयाँ अन्तरविरोधको जन्म दिने बताएका थिए। यही कुरा उनका लागि भारी पर्ने देखिएको छ।

नेकपा एमालेको अनुशासन आयोगले नेता भुसाललाई कारबाहीको सिफारिस गरेको हाे। ‘नेता भुसालले पार्टी अनुशासनविपरीत कार्य गरेकाले कारबाही प्रस्ताव गरिएको हुनसक्छ, त्याे विभागको कुरा हो,’ एमालेका सचिवालय तहका एक नेता भन्छन्।

एमालेले नेताले भुसालमाथिको कारबाही सिफारिसको औचित्य प्रकाश पार्दै उनले थपे, ‘उहाँले नेतृत्वको मानमर्दन हुनेगरी बोलेकाले कारबाही प्रस्ताव गरिएको हुनसक्छ । यसबारे विस्तृतमा जानकारी त गराइएको छैन।’

भुसालले केही दिनअघि योहो टेलिभिजनसँगको अन्तरवार्तामा स्थानीय तह निर्वाचन परिणामको भागीदार ओली भएकाले जिम्मेवारी उनैले लिनुपर्ने बताएकामात्र थिएनन्, राजीनामा नै दिनुपर्ने बताएका थिए।

आलोचनाको संस्कृतिको मृत्यु

यो स्थानीय निर्वाचनमा एमालेले ९० स्थान गुमाउँदै २०५ स्थानमा खुम्चियो । त्यसको कारण गठबन्धनमात्रै थिएन। एमालेभित्रको अन्तरविरोध पनि थियो । पोखरा, काठमाडौं, हेटौंडा, इटहरीलगायत ठाउँमा त्यो खुलम्खुला देखिएको पार्टीकै नेता स्वीकार्छन् । पोखरामा त अडियो नै बाहिरिएको थियो। नेता पृथ्वी सुब्बा गुरूङले नै असहयोग गरेको भन्दै कार्यक्रमस्थलमै नाराबाजी भएको थियो। काठमाडौंमा पनि रामवीर मानन्धरले विपक्षी पार्टीसँग मिलेर आफ्नै उम्मेदवारलाई असहयोग गरेको यसअघि नै बाहिरिएको थियो।

तर, कारबाहीको डण्डाचाहिँ किन भुसालमाथि भनेर एमाले नेताहरूले प्रश्न गरिरहेका छन्। त्यसको मुख्य कारण एमालेभित्रको लोकतन्त्र कमजोर बनेकै हो ।

‘पार्टी अध्यक्ष ओलीको आलोचना गर्नु भनेकै कारबाहीको भागीदार हुनु हो, एमालेमा अहिले भएको यही हो,’ एक नेताले भने। भुसालमाथि चलाउन खाेजिएको कारबाहीको डण्डाले पार्टीभित्रको आलोचनात्मक चेतना र प्रतिपक्षी संस्कृतिको ‘हत्या’ भएको एमालेकै कतिपय नेताको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma