Developed By Kuldeep Sharma

March 24, 2024

होलीको निराश अञ्जुलीमा भेटिएकी तिमी

मुक्ता शर्मा। होली पर्व अथवा फागु प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने हिन्दुहरूको विशेष पर्व हो। वसन्त यामको यो पर्व रङ र पानीसँग मात्रै जोडिँदैन, यसको साइनो हिन्दु धर्म वर्णित त्रेता युगसँग जोडिएको छ।

त्रेता युगमा हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई हिरण्यकश्यपुकै बहिनी होलिकाले आगोमा भष्म पार्न षड्यन्त्र रचेकी थिइन्। परिमाणतः होलिका आगामा खाग भष्मिभूत बनिन्। भगावान् बिष्णुका उपासक प्रल्हादलाई केही भएन।

होलिका दहनकै खुसियाली तथा असत्यमाथि सत्यको विजय भएको दिनको द्योतकका रूपमा होली पर्व मनाउने गरेको जनविश्वास छ।

होली पर्व शिशिर ऋतुको अन्त्य र वसन्तको प्रारम्भमा मनाइने रङहरूको पर्व हो। तर मलाई केही वर्षयता यो पर्व रंगहरूको होइन तिम्रो र मेरो सम्बन्धको अद्वितीय पर्व हो जस्तो लाग्छ।

जब मनमा निराशाका लहर उठ्छन्, तब कुनै रङहरूले छुँदैन। कुनै पर्वको उल्लासले छुँदैन। यो कंक्रिटको सहरमा कसले कसलाई मान्नु?

त्यस वर्षको होली मलाई जिन्दगीभर याद रहने अमेट्य होली बनेको छ। होलीको दिन रङ दलेर रमाउँदै सडकमा हिँड्नेहरूकै कारण बाटो जाम छ भन्ने सुनियो । तर मलाई ‘जाम् रमाम्…..’ भन्नेहरू कोहि थिएनन्।

एक्लै अध्यारो कोठाभित्र गुम्सिएको मन लिएर फागु पूर्णिमा मनाइरहेकी थिएँ। खासै अन्तर त थिएन अरू र म मा। अरु रङले होली खेले म रंग सम्झिएर टोलाइरहेँ। अरू पानी र नाना रङले भिजिरहे। म आँसुले भिजिरहेँ।

मनभरि बालापनको याद आयो। मनले त्यो यादमा पटक—पटक डुबुल्की लगाइरह्यो। गाउँको याद आयो। स्कुल याद आयो। त्यतिबेलाका सखा—सखीहरूको याद आयो।

तर हिजो भेटिएका आफ्ना भन्नेहरू कसैले याद गर्न आवश्यक ठानेनन्। किनकि, म यहि कंक्रिटको सहरमा थिए। कंक्रिट जस्तो मन हुनेहरुको सहरमा थिए। मन दुखाउनु, रुनु, मन बुझाउनु अनि आँसु पुछ्नु बाहेकको अरू विकल्प पनि त थिएन!

दुःख देखाउनु कायरता हो भन्ने थाहा थियो। र पनि म कायर बनिरहेँ। आफ्नो कोही नभएपछि सबैभन्दा नजिक भनेकै सामाजिक सञ्जाल हुँदो रहेछ।
‘यो रंगिन सहरमा एउटा मन सादा भएको छ!’

करिब साँझको ५ बजे मेरो यही एउटा स्ट्याटस देखेपछि तिमी आयौ। तिमी फागुको रङ मात्र होइन, इन्दे्रणी जसरी आयौ। तिमी अचानक आयौ। तिमी पहिलो पटक आयौ। तिमीलाई पहिलो पटक आफ्नै आँखा अघि देखेँ। हाम्रो पहिलो भेट यही थियो।

तिमीले मलाई कोठामा बस्नै दिएनौ। हामी पैदल हिडेर बसन्तपुर पुग्यौ। दिनभरि होलि खेलेर साँझ घर फर्किएकी तिमी नुहाइधुवाई सकेर ओछ्यानमा पल्टिसकेकी तिमी मेरै लागि उठेर फेरि वसन्तपुरसम्म आयौ। बसन्तपुरसम्म मात्र होइन तिलाञ्जली तिमी मेरो जीवनमा आयौ।

तिमिलाई भेटेदेखि हरेक वर्षको होलीका रङहरूमा तिमिलाई नै देख्छु। साच्चै फागुुको गुलाबी रंग तिम्रै ओठबाट झिकिएको होला। निलो रंग तिम्रै सामर्थ्यबाट लिइएको हुन सक्छ। तिम्रो आध्यात्मताबाट चोरेर बन्यो होला गेरू रंग। हरियो रङमा तिम्रै शान्त स्वभाव प्रतिविम्बित भइरहेको हुन्छ। तिम्रो प्रशन्न मनबाट उत्पन्न भएको होला रातो रंग। पहेलो रंगमा तिम्रो सुख भेटिन्छ। त्यसैले मलाई यो पर्व रङहरुको होइन, हाम्रो सम्बन्धको आयाम जस्तै लाग्छ।

र त यो याम, हाम्रो सम्बधको आयाम पनि त हो!

प्रिय तिलाञ्जली! आजकल मानिसहरु सम्बन्धलाई चुरोटको ठूटो जस्तै सम्झन्छन्— तान्यो। मिल्कायो। कुल्चियो। र, मृत्युवत् तुल्यायो। तर तिमि मेरा लागि चुरोटको लत जस्तै भएकी छौ। यो प्रेमको लत हो। सम्बन्धको लत हो। आत्मीयताको लत हो। म यो लतबाट कहिल्यै छुट्न चाहन्न।

हरेक घटनाको पछाडि कारक हुन्छ। र अहिले घटेका हरेक घटनाले कालान्तरमा विशेष महत्त्व राखेका हुन्छन्। यसमा मेरो पूर्ण विश्वास छ। मैले कल्पना नै नगरेको अप्ठ्यारो परिस्थितीमा तिमी भेटियौ र आजसम्म तिमी मेरै साथमा छौ। मेरा हरेक समस्या समाधानमा तिमी छौ। सायद तिमी नभएको भए भन्ने सम्मको कल्पना नै गर्न सक्दिनँ। तिमि मसँगै हुनुपर्छ बाँस जस्तै बनेर।

यतिबेला मलाई नाजिर हुसेनको एउटा कविता खुब याद आइरहेको छ। साथी भनेको बाँस जस्तै हुनुपर्छ।

आख्लाहरूमा काट्दा बनिदियोस् ढुंग्रो र फुकिदियोस् घरको चुलो
उसलाई काटेर एक ठाउँमा राखौँ र भित्ता बनिदियोस् मेरो घरको
सानो हाँगा निकालेर प्वाल पारौँ अनी बाँसुरी बनिदियोस्
बजिदियोस् मेरो जिन्दगीमा
उ अग्लियोस् सगरमाथा छुने गरी तर
निहुरियोस् मलाई चाहिएको बेला म छुन सक्ने गरी
साथी बाँस जस्तै हुनुपर्छ।

अझ भनौ साथी भनेको तिमी जस्तै हुनुपर्छ।

हामी भेटिएपछि केही होलिमा सँगसँगै भयौँ। केही होलिमा तिमीबाटै बनेका रङसँगै भएँ।

जीवनको कुनै मोडमा केही कारणबस् हामी छुट्टियौं भने शायद मन पर्ने छैन मलाई रङ। मन पर्ने छैन फागु पूर्णिमा। शायद मन नपर्न सक्छ वसन्तपुर र वसन्त ऋतु। अनि मन पर्ने छैन; त्यो बाँस पनि!

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma