सप्तरी। सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । खडक–४ पंसेराका रामअशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटनाको गम्भीररूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन् ।
गाउँलेले झगडा छुटाएपछि पुनः राति अबेर समूहमा आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन् ।
कुटपिटबाट पासवान गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा हिजो चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
प्रतिक्रिया