Developed By Kuldeep Sharma

September 7, 2022

भलिबल संघको अध्यक्षमा मास्के र चन्दको भिडन्त

काठमाडौं। नेपाल भलिबल संघको साधारणसभा काठमाडौंमा जारी छ। साधारणसभामार्फत आगामी कार्यकालका लागि कार्यसमितिको चयन चुनावी प्रकृयाबाट हुने भएको छ।

संघको नवौं पूर्ण बैठकमा अध्यक्ष, महासचिवलगायत पदका लागि चुनाव हुन लागेको हो। साधारणसभाको बन्द सत्र सकिएसँगै उम्मेदवारको मनोनयन दर्ता भइरहेकको छ। अध्यक्ष पदका लागि यसअघिका महासचिव जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी दिएका छन्।

त्यस्तै महासचिवमा मनवीर छन्त्याल र रोशन श्रेष्ठले उम्मेदवारी दिइसकेका छन्। संघमा १३३ जना भोटर रहेका छन्। देशभरका ७७ जिल्लामै कार्यसमिति रहेको भलिबलमा ७७ जिल्लाका १-१ जना प्रतिनिधिले भोट हाल्न पाउँछन्। त्यस्तै, सात प्रदेशका २-२ जना प्रतिनिधि, रेफ्रि एक जना, पुरुष र महिला टिमका कप्तानले पनि मताधिकार पाएका छन्।

त्यस्तै, ३६ पदाधिकारीले पनि मताधिकार पाउँछन्। तिनै प्रतिनिधिले आगामी चार वर्षे कार्यकालका लागि एनभीएको नयाँ कार्यसमितिको चयन गर्नेछ। सर्वसहमतिको कुरा चलाउँदै आइरहिएको भए पनि अन्तिम समयसम्म सहमति बन्न नसक्दा चुनाव हुने पक्कापक्की भएको हो।

महासचिवमा उठेका मनवीर वर्तमान कार्यसमितिका सचिवसमेत हुन्। उनले चाहिँ निरोज मास्केको प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिएका छन्। ढोरपाटन क्लबका अध्यक्षसमेत रहेका छन्त्याल लामै समयदेखि भलिबलका सकृया पात्र हुन्।

अध्यक्ष पदका उम्मेद्वार जितेन्द्र चन्द

बैतडीमा जन्मिएका चन्दले २०४४ सालपछि भलिबल सुरु गरेका हुन्। अहिले उनी १० वर्षदेखि नेपाल भलिबल संघमा रहेका छन्। त्यस्तै उनी एसियाली भलिबल संघको कोषाध्यक्ष पनि छन्।

निरोज मास्के

मास्केले पनि उम्मेद्वारी घोषणा गरिसकेकी छन्। मास्केले आफ्नो चार वर्षे कार्यकालमा के काम गर्ने भन्ने विषयमा चार पेज लामो घोषणा पत्र नै जारी गरेकी छन्।

‘सुशासन, जनसहभागिता र व्यवसायिकता आजको आवश्यक्ता’ ट्यागलाइन राखिएको घोषणापत्रमा उनले भलिबल विकासका लागि ग्रासरुट, रेफ्री र प्रशिक्षक प्रशिक्षणदेखि प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनालाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।

त्यसो त कार्यसमिति बैठकको सूचना पनि सवल रुपमा प्रसारण गर्न नसकिरहेको भलिबल संघका लागि उनका योजना निकै महत्वाकांक्षी छन्।

किनभने उनले ‘केन्द्रमा आफ्नै भलिबल कभर्डहल निर्माण र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण र सञ्चालन गर्ने’ प्रतिबद्धता दिलाएकी छन्।

मास्केले आफू पहिलो महिला अध्यक्ष हुने दावी गरेकी छन्। २०३३ सालमा स्थापना भएको संघमा अहिलेसम्म महिला अध्यक्ष भएका छैनन्।

उनले यसअघि भलिबल संघमा पहिलो महिला कसिन संयोजकको रुपममा काम गरिसकेकी छन्। त्यस्तै, उनले दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् भने अहिले उपाध्यक्ष छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma