काठमाडौं। निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको बताएको छ।
निर्वाचन तालिकाबमोजिम राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २-३ सम्म कायम गरेको हो। राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन ४ देखि ९ असोजसम्म समय तोकिएको छ।
यस्तै, राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्न १० देखि १६ असोजसम्मको समय दिइएको आयोगले बताएको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ बमोजिम उम्मेदवारको बन्दसूची पेस गर्नेसम्बन्धी विधि तथा प्रक्रिया उल्लेख रहेको आयोगको भनाइ छ।
राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्दा पूरा गर्नुपर्ने विधि तथा संलग्न गर्नुपर्ने कागजातको सम्बन्धमा तयार गरिएको चेक लिस्ट आयोगको वेबसाइटमा राखिएको छ।
राजनीतिक दलहरूले २–३ असोजसम्म उम्मेदवारको बन्दसूची पेस गर्दा आवश्यक कागजात संलग्न राखी कानुनी व्यवस्थाबमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्त प्रतिनिधित्व हुने गरी पेस गर्नुपर्नेछ।
पेस गरेको बन्दसूचीमा मुख्य निर्वाचन अधिकृतबाट छानबिन भई राजनीतिक दललाई यस्तो सूची सच्याउन ४ देखि ९ असोजसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया