Developed By Kuldeep Sharma

May 29, 2022

सरकारले ल्याएको बजेटबारे कसले के भने ?

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्।

विपक्षी दलको आलोचना
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी सरकारले हावादारी बजेट ल्याएको प्रतिक्रिया दिएको छ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेको बताए। उनले प्राथमिकता भुलेर बजेट ल्याएको बताए ।

एमालेका सांसद खगराज अधिकारीले गठबन्धन सरकारले कार्यान्वयन गर्न नसक्ने बजेट ल्याएको बताए। ‘बजेट विश्वासयोग्य छैन। गठबन्धनले यो बजेट कार्यान्वयनका लागि ल्याएकै होइन’, उनले भने, ‘बजेटले आर्थिक संकट समाधानबारे बोल्नै सकेन।’

गठबन्धन सरकारले वितरणमुखी बजेट ल्याएको अधिकारीले बताए। उनले ठूला विकास परियोजना र आर्थिक सुशासनको सवालमा बजेटले निराश पारेको बताए।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारले चुनावलक्षित लोकप्रियताका लागि ‘छर्ने खालको बजेट’ ल्याएको बताए। उनले बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे।

सत्तारुढ दलले के भने ?

पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले आइतबार संसदमा पेश गरेको बजेट राम्रो रहेको टिप्पणी गरे। उनले नीति तथा कार्यक्रम अनुसारै कृषि क्षेत्रलाई प्राथमिकता दिएको र यसले उत्पादकत्व बढेर आत्मनिर्भरता बढ्ने दाबी समेत गरे।

पूर्वप्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ताको उमेर घटाउनु गलत गरेको बताए। उनले आफू ६८ वर्षको पुगे पनि वृद्धभत्ता नलिने घोषणा गरे।

निजी क्षेत्र उत्साहित
सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति निजी क्षेत्र उत्साहित देखिएको छ। निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गरेका छन्।

बजेटमा स्वदेशी उत्पादन र उद्योग प्रवद्र्धन, पर्यटन पूर्वाधार विकास आदि विषय समेटिनु सकारात्मक रहेको व्यवसायीको प्रतिक्रिया छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेट सकरात्मक आएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेट सकरात्मक आएको बताए। ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र उत्पादनशील क्षेत्रलाई पनि महत्व दिएको देखिन्छ’ उनले भने, ‘कतिपय योजना कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न छ।’

बजेटले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको र निर्यातलाई प्रोत्साहन गरेकोमा उनले खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma