Developed By Kuldeep Sharma

November 28, 2022

एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको लागि ४४ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय ठेक्का आह्वान

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदानमार्फत बन्ने विद्युत् प्रसारण लाइनको लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएको छ।

मिलेनियम च्यालेन्ज एकाउण्ट एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको लागि ४४ अर्ब रुपैयाँको ठेक्का आह्वान गरेको हो।

४ सय केभी क्षमताको प्रसारणलाइनको लागि तीन वटा खण्ड बनाएर ठेक्का आह्वान भएको छ।

लप्सीफेदी–रातमाटे–हेटौंडा, लप्सीफेदी-दमौली र दमौली-न्यु बुटवल गरी तीन वटा खण्डको लागि एमसीए नेपालले ४ महिनाको समय राखेर ठेक्का निकालेको छ।

इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन्। २९ अर्ब ६४ करोड रुपैयाँ प्रसारणलाइन र १४ अर्ब ८२ करोड रुपैयाँ सब-स्टेशनको लागि खर्च हुनेछ। आयोजनाको काम आउँदो भदौमा सुरु हुनेछ।

काम सुरु भएको मितिले ५ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने विषय संसदबाटै पारित भइसकेको छ।

आयोजना समयमै सक्नको लागि र कुनै विवाद आएमा तत्कालै समाधान गर्नको लागि एमसीसी सम्झौतालाई संसदले नै अनुमोदन गरेको छ।

एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर गरेर ६३ करोड अमेरिकी डलरमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम हुन लागेको हो।

काठमाण्डौको लप्सीफेदीबाट सुरु भएको तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन नुवाकोटको रातामाटे पुग्नेछ।

त्यहाँबाट एउटा लाइन हेटौंडा र अर्को दमौली हुँदै बुटवल पुग्नेछ। प्रसारण लाइन र सबस्टेशनमा तामाकोसी, सुनकोसी, भोटेकोसी, त्रिशुली, मर्स्याङ्दी र कालीगण्डकी नदी बेसिनका कैयौँ आयोजनाको बिजुली जोडिनेछ। यो लाइनले तीन हजार मेगावाट बिजुली बोक्नेछ।

बुटवल पुगेको लाइनलाई भारतको गोखरपुरसम्म पुर्‍याउनका लागि नेपाल र भारतले संयुक्त कम्पनी बनाएर न्यु बुटवल–गोरखपुर प्रसारण लाइन बनाउँदैछ।

यस्तै सडक स्तरोन्नतितर्फ दाङ र कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको सीमाना शिवखोलासम्मको ७७  किलोमिटर सडकलाई अत्याधुनिक प्रविधिमार्फत स्तरोन्नति गरिनेछ।

यो प्रविधि नेपालमै पहिलो हुने एमसीए नेपालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma