Developed By Kuldeep Sharma

August 27, 2022

छाडा नाचले मौलिकता गुमेको तीज

काठमाडौं। हिन्दुधर्मको एक महत्वपूर्ण सांस्कृतिक परम्परागत चाड हो तीज। नारीहरूका लागि सोह्र सृङ्गार विशेष पर्वका रूपमा तीजलाई लिने गरिन्छ।

तीजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ। विवाह गरेर टाढा-टाढा पुगेका छोरीचेलीलाई माइतीले आदरसाथ निमन्त्रणा गर्ने र चेलीले माइती घरको आँगनीमा दु:ख सुखका कुराहरू साटासाट गरेर तीज मनाउने चलन छ।

कामविशेषले माइती आउन नपाएका चेलीले आफ्ना पतिको घरमा रमाइलोसँग तीज मनाउने चलन छ। समयको परिवर्तनसँगै नेपालीको वैदेशिक यात्रा, आर्थिक उन्नति र शैक्षिक गुणस्तरमा वृद्धिसँगै जीवन शैली फेरिएको छ। फेरिएको जीवन शैलीसँगै चाडबाड मनाउने प्रचलनमा पनि व्यापक फेरबदल आएको छ।

तीजको दर खाने दिनको स्वरुपमा पनि परिवर्तन आएको छ। केही वर्ष यता तीजको दरखाने र खुवाउने परिपाटी फराकिलो बनेको छ। अब यो तीजको अघिल्लो दिन मात्रै नभएर महिनौ चल्न थालेको छ।

“नारीको स्वतन्त्रता र खुशियाली साट्न मनाईने परम्परागत चाड तीजको दुरुपयोग गरी महिनौंसम्म आयोजना गरिने भोज भतेर तथा गहनाको प्रदर्शन एवं महिलाहरूद्वारा देखाईने छाडा नृत्यहरूको कारण हाम्रा पौराणिक चाडवाडहरू बदनाम बन्दै गइरहेका छन्।”

आजभोली दरको नाममा महिनौँदेखि रमाउन थालिएको छ। विभिन्न फेसन, र सजिसजावटले नारीहरू रङ्गिन थालेका छन्। दरकै नाममा व्यस्त पनि हुन थालेका छन्। यसले समाजमा हुर्कदै गरेका नयाँ पुस्तामा ठूलो विकृति ल्याएको छ।

केही समयदेखि आफूले वर्षभरी काम गरेको कार्यालय संघ-संस्थाहरुबाट राजीखुसीले आफ्ना महिला कर्मचारीलाई दर खुवाउने प्रचलन सुरु भएको छ। यसमा आपत्ति हुनुपर्ने कुनै कारण छैन। तर दर खाने र रमाईलोको गर्ने क्रममा सामाजिक सञ्जालमा छाडा नाच भाइरल भइरहेका छ।

नारीको स्वतन्त्रता र खुशियाली साट्न मनाईने परम्परागत चाड तीजको दुरुपयोग गरी महिनौंसम्म आयोजना गरिने भोज भतेर तथा गहनाको प्रदर्शन एवं महिलाहरूद्वारा देखाईने छाडा नृत्यहरूको कारण हाम्रा पौराणिक चाडवाडहरू बदनाम बन्दै गइरहेका छन्।

नेपाली संस्कृति र मूल्य मान्यतालाई बिर्सेर मनोरञ्जनको बाहानामा पश्चिमी नृत्यको सिको गरि कुसंस्कार भित्र्याउने परिपाटीले हाम्रो समाजलाई नकरात्मक सन्देश प्रवाह गरिरहेका छन्। हालै चर्चित पत्रकार ऋषी धमला पत्नी अलिजा गौतम अफिसियल टिकटक अकाउन्ट बाट एउटा भिडियो सार्वजनिक भयो।

उक्त भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ। गौतमको भिडियो भाइरल भएसँगै कुकुर डान्स स्टेप कपी गरेर सरकारी कर्मचारी, स्वास्थकर्मी जस्ता संमवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीले कार्यालय पोसाकमै टिकटक भिडियो बनाएर भाइरल बनेका छन्। त्यस्ता नृत्यको सबैले आलोचनासमेत गरिरहेका छन्।

आलोचना सहन नसकेर माफी माग्नेहरू पनि कम्ति छैनन्। भाइरल हुनकै लागि टिकटक मार्फत अश्लिल हर्कत देखाइरहेका छन्। यसले गर्दा नारी संवेदनशीलतामा आलोचना मात्र नभइ समाजमा विकृति फैलिरहेको छ। देश भित्रमात्रै नभएर विदेशिएका नारीहरूले नेपाली संस्कार संस्कृतिलाई भड्किलो पार्दै विकृति पैदा गरेको विश्लेषकहरूको दाबी छ तर यसलाई नकारात्मक दृष्टिले मात्र हेर्न नहुने मेरो बुझाइ छ।

नकारात्मक टिप्पणी मात्रै गर्नुभन्दा अनावश्यक भड्किलो पक्ष माथि गैरआबासीय नेपाली समाजलाई ध्यानाकर्षण गराउनु उचित देखिन्छ। समाजका समाज नवधनाढ्य वर्गले तीजलाई केही भड्किलो र भद्दा बनाएकै छन्। समाजमा तीज जति भड्किलो हुँदै गएको छ त्योभन्दा बढी यस विषयलाई लिएर गरिने टिकाटिप्पणी, व्यङ्ग्य र मिडियावाजीले बढी मात्रामा विकृति ल्याउन सहयोग गरेका छन्।

तीजको दर खाने विषयलाई लिएर जति सकारात्मक सोच्न सकिन्छ त्यतिनै बढी यसमा विकृति विसंगति भित्रिएको देख्न सकिन्छ। परिवर्तन जहिलेपनि समृद्धितर्फ हुनुपर्छ र यो सकारात्मक पनि हुन्छ। तर नेपाली समाजमा भने यसको प्रभाव ठीक उल्टो छ। जीवनस्तर वृद्धि भनेको फेसन, देखावटी, मनोरञ्जनका रूपमा मात्रै बुझ्दै गरिरहेको देखिन्छ।

यसले आफ्नो मौलिक संस्कार संस्कृतिमाथि नै विकृति बढेको छ। तीज विशेष गीतहरूले नारी मनका दु:ख,पीडा,समवेदना,हर्ष, खुसीभन्दा फेसन देखावटी मनोरञ्जन साजसज्जाका सामग्रीहरूलाई बढावा दिएको पाइन्छ। नेपाली सांगीतिक क्षेत्रका आशालाग्दा सर्जक गायकहरूबाट नै तीज गीतमाथि प्रहार भइरहेको छ। यो दुःख लाग्दो पक्ष हो।

हरेक वर्ष तीज आउँदा तीजका नाममा थुप्रै गीत सार्वजनिक हुन्छन्। तर हरेक वर्ष जसो कुनै न कुनै गीत विवादमा तान्छिन्। केहिदिन अघि गायिका शुशिला पाठकले गाएको ‘पापाकी परी’बोलको गीतलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भयो। यो गीतको शब्द सर्जक शिव हमालले लेखेका थिए।

गीतका शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भयो। ‘पापाकी परी’बोलको गीतमा के हुन्छ होला है विहेको राति, अँध्यारो कोठामा अञ्जान साथी! सम्झेर गइसक्यो सातो वरी लै’ भन्ने शव्दमा मोडल करिस्मा ढकालले पेटिकोट लगाएर अभिनय गरेकी थिईन्। यसै शब्दलाई लिएर परिवारसँग बसेर हेर्न र सुन्न नसकिने भन्दै विरोध आएको थियो।

यो एउटा यस्तो चाड हो जसले दिदीबहिनीका भोगाइहरूलाई व्यवहारिक रुपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई स्फूर्ति जगाउने जस्ता थुप्रै मौलिक विशेषता भएको सनातन हिन्दूहरूको एक विशेष चाड हो। त्यसैले भड्किलो बनाएर यसको गरिमा घटाउनुभन्दा समाज सुझाउँदा गतिविधि गरेर मौलिकता जोगाउन लागौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma