Developed By Kuldeep Sharma

May 20, 2022

रौतहटमा मतपेटिका लुटेरा ७ दिनपछि पक्राउ

काठमाडौं । रौतहटमा मतदानको दिन मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका-२ स्थित श्री मावि भेडियाही स्कुलको मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो। एक समूह मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएको थियो।

प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ। अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जनाएको छ। बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानुनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma