Developed By Kuldeep Sharma

May 25, 2022

जेठो महानगर हाक्ने जिम्मेवारी दुई युवाको काँधमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १ देखि १२ सम्म र १८ देखि ३२ सम्मको मतगणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मतगणना जारी छ।

हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत भएको छ। ६ हजार ५३२ मत पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मेयरमा सुरुदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरका साथ अग्रस्थानमा छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्। बालेनले ५४ हजार २१२ मत प्राप्त गर्दा सिंहले ३४ हजार १८० र केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन्। चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ९६३ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ८१ मत प्राप्त गरेका छन्।
विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले ५९५ मत पाएकी छन्।

बालेनको जित लगभग निश्चित नै बनेको छ। यस्तै उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छिन्। महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन्।

महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन्। उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन्। अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma