Developed By Kuldeep Sharma

July 11, 2022

कांग्रेस मुख्यालय अघि शेखर समूहले प्रदर्शन गर्ने

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन्।

पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता-कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन्।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघका नेता तपेन खड्काले जानकारी दिए। खड्काले भने, ‘सबै भ्रातृ संस्था भताभुंग छन्। पार्टीलाई दबाव दिन प्रदर्शन गर्न लागेका हौं।’

१० फागुनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो। नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय कार्य समिति फागुन ३ मा भंग गरिएको थियो।

सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनित गरेका छन्। सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई मनोनित गरेका छन्। अरु ६ वटा भ्रातृ संस्थाको मूल नेतृत्व खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma