Developed By Kuldeep Sharma

January 12, 2023

रात्रीकालिन व्यवसायलाई श्रम गन्तव्यको रूपमा विकास गर्न नीति तर्जुमा गर्नुपर्ने माग

काठमाडौं। दोहोरी रेष्टुरेन्ट, डान्सबार, गजल रेष्टुरेन्टलगायतका रात्रीकालिन व्यवसायलाई मर्यादित श्रम गन्तव्यमा रूपमा विकास गर्न आवश्यक नीति तर्जुमा गर्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्रिय महिला आयोगद्वारा आइतवार राजधानीमा आयोजित “मनोरञ्जन क्षेत्र र जोखिमयुक्त क्षेत्रमा काम गर्ने महिला श्रमिकको समस्या र चुनौती”बारे छलफल कार्यक्रममा सहभागीहरूले सो क्षेत्र व्यवस्थित भएमा स्वदेशमै रोजगारीको प्रसस्त अवसर मिल्ने र आत्मसम्मानपूर्वक काम गर्ने वातावरणका लागि नीतिको माग गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिल्सेनाले दिनमा भन्दा रातमा निन्द्रा मारेर काम गर्न स्वास्थ्य, सुरक्षालगायतका थुप्रै चुनौतीको सामना गर्नुपर्ने भएकोले यस क्षेत्रमा काम गर्ने विशेष गरी महिला श्रमिकको सुरक्षा, व्यवसाय श्रमिकबीच सम्झौतालगायत राम्रो तलब सुविधासहित उनले यस क्षेत्र आर्थिक हिसावमा ठूलो बजेटमा काम हुने क्षेत्र हो, तर उपयुक्त नीतिको अभावमा व्यवसाय डराउँदै बाउन्सरको सहयतामा बस्नुपर्ने र त्यहाँ कार्यरत श्रमिकले श्रम, यौन, शारीरिक, मानसिक शोषणकाबीच काम गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष तिमल्सेनाले आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धनको थुप्रै सम्भावना बोकेको रात्रीकालिन व्यवसायलाई व्यवस्थित पार्ने हो भने यस क्षेत्रमा काम गर्दा महिलाले झेल्नुपर्ने सामाजिक लालछना, वेरोजगारीको समस्यामा कमि आउने र काम गर्ने र गराउनेले पनि निर्धक्क हुन पाए त्यसबाट राज्यलाई नै फाइदा हुने दावी गरे।

सो अवसरमा राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष कृष्णकुमारी खतिवडाले आयोगले महिला हिंसा विरूद्ध गर्ने विविध गतिविधीमा मनोरञ्जन व्यवसायमा जोखिमपूर्ण श्रम गरिरहेका र श्रम शोषणलगायत विविध अप्ठ्याराबीच रोजगारी गरिरहेका महिलाले सम्मानपूर्वक श्रम गर्न पाउने वातावरण बनाउन पहल थाल्ने बताईन्। खतिवडाले काम गरेर खान्छु भनेर त्यस व्यवसायमा रोजगारीका लागि जाने महिला, घरपरिवारसँग नै लुकेर काम गर्नुपर्ने, व्यवसायीसँग श्रम सम्झौता नहुने, कम तलबमा व्यवसायी र त्यहाँ खान पिउन आउने ग्राहकबाटै अपहेलित हुनुपर्ने गुनासो र उजुरी आयोगमा प्रसस्त आएकोले यस्तो समस्याको छिट्टै अन्त्य गर्न सामुहिक प्रयास गर्नुपर्ने बताएकी छन्।

सो अवसरमा विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले सो क्षेत्रमा विद्यमान अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै नागरिकता, शैक्षिक प्रमाणपत्र नभएपनि गाउने, नृत्य गर्ने,बाजा बजाउने र चिटिक्क शरीर, बोलीबचनको भरमा काम पाउने तर कम तलब, त्यो पनि समयमा नपाउने, टिप्सको भरमा काम गर्नुपर्ने, उमेर छउन्जेल मात्र काम पाउने, श्रम ऐनको पालना नहुने समस्या रहेको बताईन्।

अध्यक्ष भण्डारीले विश्वास नेपालले सो क्षेत्रलाई मर्यादित श्रम क्षेत्रको रूपमा विकास गर्न श्रमिकको हक अधिकार र व्यवसायीको समस्या र दायित्वबारेमा बहस चलाउँदै आएको र वि.स. २०६५मा मनोरञ्जन क्षेत्र सम्वन्धी एउटा निर्देशिका आएको त्यसको कार्यान्वयनको अवस्थाको अनुगमन नभएको गुनासो गरीन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma