Developed By Kuldeep Sharma

January 25, 2023

रवि लामिछानेको नागरिकता विवाद संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ

काठमाडौं। उपप्रधान  तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुवाइ हुने भएको छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न हुन लागेको हो। नागरिकता विवादको सुनुवाइको लागि अग्राधिकार दिँदै सर्वोच्चले छिटो, छरितो सम्पन्न गर्नु आवश्यक देखिएको जनाएको छ।

प्रारम्भिक सुनुवाइमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले दिएको आदेशमा भनिएको छ, ‘रिट निवेदन उपरको सुनुवाइ रिट निवेदक वा प्रत्यर्थी कुनै पक्षको अनुरोधमा पनि स्थगित नहुने व्यहोराको जनाउ दिई अरू नियमानुसार गरी पेस गर्नू।’

अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।  सर्वोच्चले अन्तरिम आदेश नदिएका कारण लामिछानेको मन्त्री पद तत्कालका लागि यथावत् रहेको छ।

इजलासमा नेपालको नागरिकता ऐन, २०६३ को दफा १० र ११, नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ समेतका कानुनको व्याख्या र प्रयोगमा प्रश्न उठाएको थियो। चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेले अमेरिकी नागरिकता लिएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको विदेशी नागरिक भएको कानुन व्यवसायीको जिकिर थियो।

नागरिकता ऐनको दफा १० मा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त निजको नेपाली नागरिकता कायम नरहने उल्लेख छ। त्यस्तै दफा ११ मा नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नागरिकता पुनः कायम हुने उल्लेख छ।

नागरिकता नियमावली २०६३ को नियम ११ मा नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि नागरिकता पुनः कायम हुने उल्लेख छ।

लामिछानेले २०७५ असार ६ गते अध्यागमन विभागमा आफूले अमेरिकी नागरिकता त्यागेको जानकारी गराउँदै कागजात पेस गरेका थिए। मंसिर १२ गते गृह मन्त्रालयले लामिछानेको नागरिकता सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा छानबिन गर्न पत्र पठाएको थियो। सोसम्बन्धी फायल पनि सम्बन्धित प्रहरी कार्यालयबाट ७ दिनभित्र झिकाउन आदेश दिएको थियो।

लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहिलो पटक नागरिकता लिएका थिए। त्यसपछि उनी अमेरिका गए। २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। २०७५ साल जेठमा अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको रिट निवेदकको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma