Developed By Kuldeep Sharma

May 9, 2023

सुत्केरी बिदा ६ महिनासम्म

काठमाडौं। सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ। हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ। स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ।

‘सुत्केरी बिदा बढाउने विषय अनौपचारिक कानुन मन्त्रालयसँग छलफलपछि स्वास्थ्यले ऐन संशोधनका लागि ड्राफ्ट पठाएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अब कानुुनले एक महिनामा अन्तिम ड्राफ्ट तयार पार्छ । त्यसपछि, मन्त्रिपरिषदको स्वीकृती हुँदै संसदबाट पारित हुन्छ।’

संशोधित ऐन कार्यान्वयनमा आएमा सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाहरुले सुत्केरी विदा बापत ६ महिना विदा पाउनेछन्।

परिवार कल्याण महाशाखा अन्तर्गतको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी श्रेष्ठ पछिल्ला वर्षमा अधिकांश महिला घरबाहिर नै काम गर्न जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गइरहेको बताउँछिन् । सरकारले महिलालाई आवश्यक विदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आंकलन गरिएको छ।

‘सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आएको छ, जुन पर्याप्त छैन । जबसम्म आमालाई ६ महिना बिदा दिने प्रावधान हुँदैन, तबसम्म स्तनपानको दर बढ्दैन,’ डा. श्रेष्ठ भन्छिन्।

‘अहिले धेरै महिला काम बाहिर जाने हुँदा आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टाको दूध वा लिटो खुवाउने प्रचलन बढ्दै गएको छ । तर, बच्चालाई चाहिने पोषकतत्व अन्य वस्तुबाट पाइँदैन,’ डा. श्रेष्ठले थपिन्, ‘आमाले स्तनपान गराउनका लागि अनिवार्य रुपमा ६ महिना बिदा दिने प्रस्ताव राखेका हौं।’

दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयको तथ्यांकले स्तनपान गराउने आमाको संख्या घट्दै गएका कारण सो लक्ष्य प्राप्तिमा चुनौतीको ठूलो पहाड खडा भएको देखिएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घटिरहेको देखाउँछ। शिशु जन्मिएदेखि पाँच महिनासम्म एक सय जना सुत्केरी आमामध्ये ५६ जनाले मात्रै स्तनपान गराउँछन् भने ४४ जनाले र्फमुला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन्।

पाँच वर्षको फरकमा गरिने सो सर्वेक्षण यसअघि २०१६ मा भएको थियो । त्यो बेला स्तनपान गराउने ६६ प्रतिशत थिए । पाँच वर्षमा स्तनपान गराउने आमाहरूको संख्या १० प्रतिशतले घटेको छ । त्यसअघि पूर्ण स्तनपान गराउने दर सन् १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८ प्रतिशत, २००६ मा ५३ प्रतिशत र २०११ मा ७० प्रतिशत पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma