काठमाडौं। आगामी वैशाख २ गतेदेखि नयाँ शैक्षिकसत्रका लागि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरिसकेको छ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
वैशाख २ गते अभियानको पहिलो दिन सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्रया गर्ने कार्यक्रम रहेको छ। वैशाख २ गतेदेखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने बताइएको थियो।
सामुदायिक विद्यालय केन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ।
अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ। वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ। निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।
प्रतिक्रिया