Developed By Kuldeep Sharma

January 10, 2023

यस्तो हुनेछ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । प्रचण्डलाई नेकपा एमालेसहित सरकारमा सहभागी दलहरूले विश्वासको मत दिने बताइसकेका छन् । सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी)ले आज यसबारेमा निर्णय गर्ने बताएको छ ।

प्रधानमन्त्रीले यसरी लिन्छन् विश्वासको मत

विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनका लागि सूचना दिनुपर्छ । सूचनापछि विश्वासको मतका लागि संसद् सचिवालयले आफ्नो तयारी थाल्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद् सचिवालयलाई दिइसकिएको छ । सोही अनुसार संसद् सचिवालयले पनि विश्वासको मतका लागि आफ्ना काम अघि बढाइसकेको छ ।

सभामुखले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सूचना पढेर सुनाउने

प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी सूचना (हिजो सोमबार बैठक बसेको थियो) प्रतिनिधिसभाको बैठकमा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट)बाट पढेर सुनाउने काम भइसकेको छ । नयाँ संसदको पहिलो बैठकमा प्रतिनिधिसभाका सदस्यहरूलाई जानकारी गराइसकेको प्रधानमन्त्रीको विश्वासको मत लिने दिन (आज) प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई आफूलाई विश्वासको मत लिनका लागि सभामुखले प्रस्ताव पेस गर्न समय दिन्छन् । सभामुखले दिएको समयमा प्रधानमन्त्रीले आजको प्रतिनिधिसभाको बैठकमा आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरूसँग प्रस्ताव राख्नेछन् ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि सांसदहरूलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रश्ताव पेस गर्नेछन् । प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीले आज विश्वासको मत लिनेछन् । प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरूको छलफल
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरूले बोल्न चाहेमा सभामुखले उनीहरूलाई बोल्न समय उपलब्ध गराउँछन् । सभामुखले दिएको समयसीमा भित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदहरूले आफ्नो धारणा राख्नेछन् । संसद्मा यदि पूर्वप्रधानमन्त्री र पूर्वसभामुखले बोल्न चाहेको खण्डमा भने समयको पावन्दी रहँदैन । उनीहरूले बोल्न चाहेमा पर्याप्त समय पाउनेछन् । सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ । तर, संसदमा रहेका ७ भन्दा बढी दलहरूले वर्तमान प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेकाले त्यो अवस्था आउने देखिँदैन । छलफल सकिसकेपछि प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन् ।

प्रधानमन्त्रीको जवाफ

प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । प्रधानमन्त्रीले सांसदहरूले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।

प्रस्ताव निर्णयार्थ प्रस्तुत

संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ । त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ । निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु हुन्छ । सदस्यहरूलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ । तर, प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि भने ध्वनीमतको व्यवस्था हुँदैन ।

मत दिइसकेपछि सच्याउन पाउने अवसर

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरूलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनेछन् । सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरूले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन् । यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउनेछन् । विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव राष्ट्रपतिसमक्ष संसद सचिवालयले लेखेर पठाउँछ । प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ ।

संविधानको धारा ७६ को उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्छन् । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए । प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्नेकुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसमक्ष प्रस्ताव राख्न सक्नेछ । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ ।

नेकपा (एकीकृत समाजवादी)लाई पार्टीको ह्वीप लाग्छ ?

राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ । संविधानको कुन उपधारामा ह्वीप लाग्ने र कुनमा नलाग्ने भन्ने व्यवस्था भने गरेको देखिँदैन । यतिबेला नेकपा (एकीकृत समाजवादी) निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भयो । जसकारण आम मानिसमा माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई ह्वीप लाग्छ कि लाग्दैन भन्ने जिज्ञासा छ । तर, संसद सचिवालय भने (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्ने बताउँछ । तर, राष्ट्रिय दल नबनेका कारण पार्टीको ह्वीप लाग्ने वा नलाग्ने भन्ने स्पष्ट व्यवस्था गरेको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma