Developed By Kuldeep Sharma

August 22, 2023

राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

रामहरी खतिवडा
नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरि राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आज (भदौ४) कै दिन निधन भएको थियो ।

अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उहाँको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो¥याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ । बौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो ।

यी चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्न सक्ने उहाँको क्षमता अद्भूत थियो । उहाँसँग २०४२ सालमा मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासमा भएको थियो । किसुनजीसँगै रहेको मलाई औंल्याउँदै उहाँले सोध्नुभयो– ‘तिम्रो घर कहाँ हो ? मैले ओखलढुङ्गा भएको बताएँ । उहाँले ओखलढुङ्गाका बलबहादुर राईलगायत अन्य नेताहरुको नाम भन्नुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गर्नुहुँदा मलाई गर्वले छाती फुलेजस्तो भयो । त्यसपछि उहाँसँग म नजिक हुन थालेँ ।

प्रष्ट वक्ता र सरल शब्द चयन उहाँका विशेषता थिए । विपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर उहाँले काम गर्नुभएको थियो । चित्त नबुझेका कुरामा उहाँले विपी र गणेशमानसँग पनि फरक मत राख्नुुहुन्थ्यो । उहाँको जिवनको लामो समय राजनीतिमै बित्यो । यद्यपि, राजनीति भने उहाँको तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य थियो र दोस्रो प्राथमिकता अध्यात्म थियो । उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा आफू राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको बताउनुुहुन्थ्यो । उहाँले राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाउनु भयो ।

उच्चस्तरको बौद्धिक नेता भएर पनि उहाँमा अचम्मको साद्गीपन थियो । सामान्य किसिमको खानपिन रुचाउनु हुने उहाँ प्रायः सादा खाना, दही, दुई र तीन वटा रोटी र समय अनुसारको तरकारी खानुहुन्थ्यो । कम मात्रामा मदिरापान गर्ने उहाँमा लुकाएर खाने बानी थिएन । मैले उहाँले धुम्रपान गरेको देखिन । २०६०÷६१ सालतिरदेखि नै उहाँले खाने कुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो । सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित हुनुहुन्थ्यो । उहाँमा लप्पनछप्पन केही थिएन । स्पष्ट वक्ता हुनुहुन्थ्यो ।

उहाँ आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने एकै दिनमा तीन÷चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । प्रत्येक पटक २०÷३० वटा पुस्तकसम्म किन्ने बानी थियो । अत्यधिक पढ्न रुचाउने उहाँ कहिलेकाहीँ राति अबेरसम्म पढ्ने र भोलिपल्ट अपरान्ह १२–१ बजेसम्म पनि सुत्ने गर्नुहुन्थ्यो । उहाँमा पद लोलुपता पटक्कै थिएन । त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि कहिल्यै मान्नुभएन ।

पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको बताउनुहुन्थ्यो । विं सं.२०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरिलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भन्नुभएको थियो । तर उक्त चुनावमा उहाँले थोरै मतले पराजित हुनुभयो । त्यसपछि उहाँले भन्नुभएको थियो, ‘म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो । जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन ।’

उहाँलाई धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे । काठमाडौँमा बस्दा प्रायः डेरामै बस्नुभयो । घर बनाउने, विलासी जिवन बिताउने मोह कहिल्यै मनमा आएन । उहाँको स्वभाव किसुनजीसँग पनि मिल्दथ्यो । भन्नुहुन्थ्यो– ‘राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्न भनिरहनुहुन्थ्यो । हामी किसुनजीका अनुयायी हौँ ।’ इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्छ भन्नुहुन्थ्यो । सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्नुहुन्थ्यो । मैले गर्छु भनेको आफूले राजनीति पद प्राप्तिका लागि होइन भन्नुहुन्थ्यो । नभन्दै जे बोल्नुभयो त्यो उहाँले निर्वाह गर्नुभयो । पदीय र राजकीय पदमा जानु भएन ।

उहाँको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन् । घरभन्दा करिब पाँच किमी पर आश्रम पनि बनाउनु भएको छ । आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले बिरूवा हुर्काएको बताउनुहुन्थ्यो । आश्रममा बस्न निकै आनन्द लाग्ने बताउँथ्यो । शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्नुहुन्थ्यो । २०५१ सालमा किसुनजी सिरहा जाँदा म पनि उहाँसँगै गएको थिएँ । त्यहाँ हामी पाँच दिन रहँदा गिरिजीको लहानस्थित बस्तीपुरको आश्रममा बसेका थियौँ । काठमाडौं हुँदा पनि उहाँ तपोवन गइरहनुहुन्थ्यो ।

विपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उहाँ अब्बल हुनुहुन्थ्यो । व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो । कतिपय बुद्धिजीवीहरु उहाँलाई बिपीपछिको सबैभन्दा प्रभावशाली विचारकका रुपमा लिन्छन् ।
जनमत संग्र्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो । विपीको देहावसान पछिको अवस्थामा प्रदीपले नै बौद्धिक बहसको परम्परालाई निरन्तरता दिनुभयो । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उहाँको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो ।

लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेषण, चर्चा–परिचर्चा र संश्लेषण गर्नुभयो । यसैमा रमाउनुभयो, उहाँमा चातुर्यता थियो । युवाहरूलाई पार्टी राजनीतिमा आकर्षण गर्नुपर्छ भन्नुहुन्थ्यो । विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता हुनुहुन्थ्यो । राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्नुभयो । राजनीति भनेको सत्ताकै लागि मात्रै होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्नुहुन्थ्यो । यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो । चक्रप्रसाद बास्तोलाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई म प्रति इङकित गर्दै यिनी सांसद पनि छैनन्, केन्द्रीय सदस्य पनि पराजीत भए, यस्ता युवालाई केही जिम्मेवारी दिएर युवा कार्यकर्तालाई परिचालन गर्नुपर्छ भनेर खुलेरै आग्रह गर्नुभयो ।

कांग्रेसका बैठकहरूमा धारणा राख्दा पनि युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्नुहुन्थ्यो । नयाँ पुस्ताले उहाँबाट सिक्न सक्ने धेरै कुराहरु छन् । पछिल्लो पुस्तासँग उहाँको बढी नै आशा र भरोसा थियो । भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । विशेषगरी गान्धीवादी विचारक गिरिको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो । त्यस्तै, भारतिय नेताहरू नितिशकुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई प्रशिक्षण दिनुभएको छ । ।

भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो । सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव रहेको थियो । कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । कम्युनिष्टहरुलाई माक्र्सवाद र साम्यवाद पढाउँदै हिड्न भयो । सबैको मान्छे अर्थात सर्वपक्षीय व्यक्तित्व युक्त नेता हुनुहुन्थ्यो । अन्य दलका नेता, कार्यकर्ताहरु पनि उहाँका तर्कहरुबाट प्रभावित हुन्थे । विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । संसदमा उहाँले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो । कहिल्यै एकपक्षिय रुपमा प्रस्तुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्नुहुन्थ्यो । उहाँका कुरामा तर्क र दम रहन्थ्यो ।

सादगीपनसँगै इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरिले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो । उहाँको विचारलाई गाउँगाउँसम्म पु¥याउन आवश्यक छ । उहाँको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई गतिशील बनाउन सकिन्छ ।

(लेखकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma