Developed By Kuldeep Sharma

October 2, 2023

सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने होः सांसद अग्रहरी

१५ काठमाडौँ । नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताएकी छन् ।

सांसदसँग रासस संवादमा उनले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिइन् । सांसद अग्रहरीले भनिन्, “जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको भूमिका हुनुपर्छ ।”

उनीसग विभिन्न सङ्घ संस्थामा आबद्ध रही सेवा गरेको तथा २०४७ देखि राजनीतिमा आबद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भएर काम गरेको अनुभव छ । विसं २०७४ निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र २ बाट उनी निर्वाचित हुन् । गजेन्द्र नारायणको नेतृत्व रहेको नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य, केन्द्रीय सदस्य, सह–महामन्त्री र उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उनीसँग छ ।

विकास निर्माणको प्रमुख जिम्मेवारी रहेको स्थानीय तह र प्रदेशको अधिकारलाई बेवास्ता गर्दै विकास निर्माणमा धाउने प्रवृत्तिले हाँसोको अनुभूति भएको सुनाउँदै उनले क्षेत्राधिकारभित्र नपरेको विषयमा भ्याइनभ्याइ लाग्ने काम सुहाउँदो विषय नभएको बताइन् ।

सदनमा पुगेपछि जनता र राष्ट्रको उन्नतिका हिसाबले कायपलट गर्छौं भन्ने सोच लिएको भए तापनि मुलुकको सर्वोच्च निकाय संसद्मा हुने प्रस्तुति, दोषारोपण गर्ने, होच्याउने र मानमर्दन गर्ने प्रवृत्ति मौलाएकामा आफूलाई चित्त नबुझेको धारणा राखिन् ।

निर्वाचन भएको १० महिना बितिसक्दासमेत एउटाबाहेक विधेयक अघि बढ्न सकेको बताउँदै नेत्री अग्रहरीले सदनलाई विजनेश दिने र विधेयक ल्याउने मुख्य जिम्मेवारी सरकारकै रहेको हुँदा कानुन बनाउने मामिलामा सरकारले आवश्यक चासो नदिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma