काठमाडौं। तपाईलाई कसैले यस्तो–यस्तो पुरस्कार पर्योु भन्दै सामाजिक सञ्जाल र म्यासेजिङ एपमा म्यासेज पठाए, त्यस्ता म्यासेज नखोल्न दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।
त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ। र, त्यसमा नझुक्किन आग्रह गरिएको छ।
भाइबर, म्यासेन्जर, ह्वाट्सएप, विच्याटजस्ता एपमा प्रलोभनयुक्त तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाएर सेवाग्राहकीलाई ठग्ने गरेको प्राधिकरणले जनाएको छ।
साथै, त्यस्ता प्रलोभनमा परी अपरिचित व्यक्तिलाई आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको जानकारी नदिन आग्रह गरेको छ। ‘यस्ता प्रलोभनमा नपरी यससम्बन्धी म्यासेज र यससँग आउने लिंक नखोल्नु हुन र यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन र अरूलाई पनि ठगिनबाट जोगाउन उपभोक्तालाई जानकारी गराइन्छ,’ प्राधिकरणले बुधबार जारी गरेको सूचनामा भनिएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत् ठगीमा पर्नेको संख्या बढिरहेको छ। प्रहरीकहाँ दिनहुँ यस्ता उजुरी पर्ने गरेका छन्। नेपाल प्रहरीको फेसबुक पेजमा सामाजिक सञ्जालबाट हुने ठगीका उदाहरणहरू प्रसस्त पोस्ट भइरहेका हुन्छन्। दसैं–तिहारको छेकोमा चिठ्ठा, लट्री आदि परेको भन्दै म्यासेज आउन सक्छन् । त्यस्ता म्यासेज नपत्याउन र प्रलोभनमा नफस्न नियामकले सुुसुचित गरेका छन्।
प्रतिक्रिया