Developed By Kuldeep Sharma

November 7, 2022

‘माहुरीहरु उडेर विदेश गैरहेका छन्, उनीहरुलाई गाउँमै रोकेर मह बेच्ने योजना बनाउँदै छु’ : प्रकाश बराल

काठमाडौं। बाटो, विजुली, खानेपानी सबै उम्मेद्वारले बोक्ने चुनावी एजेण्डा हुन्। तर ती एजेन्डा चुनावसम्मका लागी मात्रै रहन्छन्। त्यसपछि यता मतदाताहरु त्यही बाटो, विजुली र पानीको आशमा हुन्छन् तर जितेर गएकाहरु ५ वर्ष सम्म गाउँ फकिँदैनन्।

ति आम उम्मेद्वार भन्दा बराल अलि फरक छन्। उनीसँग बाटो, विजुली र खानेपानीका सपना मात्रै छैनन्, सिँगो फेवाताल, अन्नपूर्ण हिमाल र नेपालको पर्यटन क्षेत्र धानेको अन्नपूर्ण सर्किटको केही भाग छ। बरालले निर्वाचित भएकै दिनदेखि आफ्ना एजेण्डा सरकार र सम्बन्धित निकायमा सुनाउने र जतिसक्दो छिटो पर्या पर्यटन विकासका लागि मेहिनत गर्ने बताए। ‘फेवातालको फेरोका पिडाबारे मैले बुझेको छु, जनताका समस्या छामेको छु।,’ उनले भने, ‘मैले जति सजिलोसँग तालको समस्या समाधान गर्न सक्छु, अरुलाई उत्तिकै गाह्रो छ।’

सन् १९५० मा माउरिस हार्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गर्दा उनी जन्मिएकै थिएनन्। हार्जोगले पाइला टेकेपछि फस्टाएको अन्नपूर्णको पर्यटन आजभोली सुस्ताएको छ। सुस्ताएको पर्यटन उकास्ने नारा सबैले दिन्छन्, तर कसरी ? कसैसँग रोल मोडल छैन। बरालले संरक्षण सहितको विकास र पर्यावरण सहितको पर्यटन अवधारणा अघि सारेका छन्। ‘बनिसकेका सडक नबनाउ भन्दा जन विरोधी भइन्छ। अहिले सडकका विषयमा जनप्रतिनिधि र गाउँलेविच द्धन्द्धजस्तै छ। गाउँमा सडक पनि लैजानुपर्ने छ, पर्यटक पनि छोड्न भएको छैन,’ बरालले अघि भने, ‘यसको तादम्यता भनेकै सोही गन्तब्यमा फरक ठाउँबाट नयाँ ट्रयाकको खोजी गर्ने हो । लगानी महंगो पर्छ तर ढिलो गर्नु हुँदैन।’

फेवातालको डिलदेखि अन्नपूर्णको सिरानसम्म जुनसुकै कुनापनि पर्यटकका लागि नौलो र उत्कृष्ट गन्तब्य छन्। यसलाई सम्हाल्न सक्दा यो क्षेत्रको विकास खोज्न टाढा जानु पर्दैन। न त रोजगारीका लागि नौला नारा र चर्का भाषण आवश्यक पर्छ। ‘हरेक गाउँबाट हिमाल देखिन्छन्। जहाँ पनि होमस्टे चलाउन सकिन्छ। दिनभरी थाकेको मान्छे साँझ यसो उकालो लाग्यो भने कुनै न कुनै पर्यटकीय गाउँ पुग्छ,’ उनले भने, ‘तर ति गाउँहरु रित्ता किन भैरहेका छन् ? हामीले खोज्नुपर्ने कुरा त्यही हो जस्तो लाग्छ। यसबाट गाउँ पनि रित्तिँदैन। जमिन बाँझा हुँदैनन् र कोही बेरोजगार बस्नु पर्दैन।’

घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का, नयाँपुल, बीरेठाँटी, भदौरे, सल्यान लगायत गाउँहरु विस्तारै रित्तिएका छन्। गाउँलेले गाउँ छोड्नुमा बेरोजगारी मात्रै छैन, अधिकांश बस्तीहरु बाँदर र जंगली जनावरसँगको द्धन्द्ध झेल्न नसकेर पनि गाउँलेहरु गाउँ छोड्न बाध्य छन्। ‘म चुनाव उठेको क्षेत्र कृषिका लागि पनि उस्तै प्रख्यात छ, जति पर्यटनसँग जोडिएको छ। हरेक गाउँ कुनै न कुनै उत्पादनले परिचित छन्,’ बराल भन्छन्, ‘गाउँका माहुरी उडेर विदेश गैरहेका छन्। अब उनीहरुलाई रोकेर गाउँमै मह उत्पादन गर्ने हो। आएका पर्यटकलाई खुवाउने र पैसा कमाउने। अहिले म बाटा विजुलीका सपना भन्दा यस्ता योजनामा घोत्लिरहेको छु।’

उनले अन्नपूर्ण बेस क्याम्प र त्यहाँसम्म पुग्ने पदमार्गलाई अझै व्यवस्थित गर्ने योजना सुनाए। बीरेठाँटीबाट तिखेढुंगा हुँदै टाढापानीबाट घान्द्रुक झर्ने अर्को पदमार्गको मार्गचित्र कोरेका छन्। यहाँ केही कुण्डहरु र विशेष डाँडाहरु पर्छन्। लुम्लेबाट छिरेर तान्चोक, पुम्दीभुम्दीबाट चापाकोट, कास्कीकोट, सराङकोट हुँदै पोखरा झर्ने अर्को पदमार्ग पनि उनको नजरमा छ। यसअघि नै केही योजना चुनावी घोषणापत्र बनेपनि काम अघि बढेको छैन। पुम्दीकोटको विशाल महादेव मन्दिरलाई अन्तराष्ट्रिय करण गर्न सके हजारौं स्थानीयले त्यहीँबाट रोजगारी पाउन सक्ने विश्वास बराललाई छ। उनी यो मुर्ती निर्माणमा अहोरात्र खटेका ब्यक्ति पनि हुन्।

फेवातालको फेरोमा पनि फुटट्रयाक बनाउनुपर्ने उनी बताउँछन्। ‘लेकसाइड भनेपछि आजपनि मान्छेहरुले ३ किलोमिटर क्षेत्रलाई मात्रै बुझ्छन्। पुम्दीको फेदी पनि त तालको किनारमा छ। त्यो पनि लेकसाइड हो। तर त्यसले कुनै लाभ पाएको छैन,’ उनि भन्छन्, ‘प्राकृतिक श्रोतबाट प्राप्त लाभको समान उपभोग सबैले गर्न पाउनुपर्छ। फुटट्रयाक बनाइदिने भने कमसेकम पुम्दी क्षेत्रका नागरिकले पनि आफ्ना बारीमा फलेका फसल बेच्ने बाटो बन्छ।’ राजनीतिमा लाग्दा कसैका पनि साह्रै ठूला सपना र आकांक्षा हुँदैनन्। अहिले प्रधानमन्त्री र विभिन्न पदमा आसिनहरुलाई नै हेरौं, कतिपयले यो पद अपेक्षा गरेका थिएनन्। राजनीतिक निरन्तरताले हरेक मान्छे देशको बागडोरमा पुग्छ भन्ने पुष्टी गर्न धेरै उदाहरणहरु आवश्यक छैनन्।

बराल सानो उमेरमै आमा गुमाएर पनि समाजलाई प्रकाश दिनका लागि निरन्तर लागिरहे। जनआन्दोलन देखि देश परिवर्तनका हरेक मुद्धाहरुमा उनले गाउँलेलाई एककठ्ठा गरे। सडकमा झारे अनि त्यसको नेतृत्व आफैले लिए। सानै उमेरमा नेविसंघबाट राजनीति थालेका उनी अहिले नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि र प्रदेश कार्यालयको प्रमुख सचिवका रुपमा कार्यरत छन्। करिव डेढ दशक उनले खेलकुद विकास समितिमा रहेर युवाहरुसँग नजिकिने काम गरे। उनै बराल अहिले कास्की क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य उम्मेद्वारका रुपमा प्रस्तुत भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma