Developed By Kuldeep Sharma

July 15, 2022

पार्टी फुटाउने भट्टराईको सपना चकनाचुर भयो : उपेन्द्र

वीरगन्ज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन्।

वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भट्टराईको जसपा फुटाउने षड्यन्त्र संख्या नपुगेर परास्त भएको बताएका हुन्।

उनले भने, ‘पार्टी विधानविपरीत राजीतिक रुपले गलत बाटोमा लैजाने प्रयासस्वरूप पार्टी विभाजन गरी बाबुरामजीले गुटको बैठक बोलाउनु भयो, यो गलत कार्य थियो। पार्टी अनुशासनविपरीत कार्य भएको छ, पार्टीको एकतामा खलल पुर्‍याउने प्रयास भएको छ।’ पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई बैठक बोलाउने अधिकार नदिएको यादवले खुलाए।

वीरगन्जमा २९ र ३० गते बसेको बैठकमा दुई तिहाईभन्दा बढी केन्द्रीय कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको यादवले बताए। काठमाडौंका भेलामा केही साथीहरूको मात्र उपस्थिति रहेको थियो।

‘पार्टी फुटाउने जुन उहाँको षड्यन्त्र थियो, त्यो संख्या नपुगरे नै उहाँ परास्त हुनुभयो,’ अध्यक्ष यादवले भने, ‘त्यो प्रयास असफल भएको छ। जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ।’ गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराई पक्षले नयाँ पार्टी दर्ता गराउने प्रयासमा रहेको उनले बताए।

बाबुराम भट्टराई, महिन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ, हिसिला यमीलगायत ९ जनालाई पार्टीको हितविपरीत कार्य गरेकाले जिम्मेवारीबाट मुक्त गने निर्णय गरिएको पनि उनले बताए।

‘बाबुरामजीले पार्टी क्षेत्रीयतावादी र जातिवादी बढी भयो भन्दै गुनासो गर्दै आउनु भएको थियो। छुट्टै दृष्टिकोण राख्दै केही केन्द्रीय सदस्य बटुलेर, केही सांसदलाई अनेक भ्रम फैलाएर अगाडि बढ्ने प्रयास गर्नुभयो,’ उनले भने, ‘त्यसका लागि हस्ताक्षर अभियान चलाउनुभयो। हस्ताक्षर अभियानमा उहाँको संख्या पनि नपुगेको र केही हस्ताक्षरकर्ताले पार्टी विभाजनको षड्यन्त्रमा सहभागी नहुने भनेपछि पछाडि फर्किएका थिए। अनि उहाँको प्रयास असफल भयो।’

कार्यकारणी र केन्द्रीय समिति लाई पुनर्गठन गर्ने, विधान संशोधन गर्ने लगायतका पार्टी संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउने यादवले बताए। भट्टराई पक्षले भने नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ। मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपालाई पुनर्गठन गरी नयाँ पार्टी बनाउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma