Developed By Kuldeep Sharma

July 4, 2022

भाइरलहरूको अर्थराजनीति

कुनैपनि समाजको तत्कालिन विशिष्ट परिघटनालाई बुझ्न त्यस समाजका सम्पूर्ण सामाजिक अवयवहरूको कम्तिमा पनि तत्कालिन स्थितिको बारेमा विश्लेषण गर्नु जरुरी हुन्छ। अर्थात त्यस समाजमा अवस्थित आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थाको अध्ययनमा जानुपर्ने हुन्छ। जसले गर्दा मात्रै विषयवस्तुको बारेमा सही, यथेष्ट र स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्दछ।

पछिल्लो केही समययता हामी नेपालमा सामान्यभन्दा सामान्य अवस्था भएका मानिसहरू पनि विभिन्न सामाजिक प्लेटफर्म(संजाल)हरूमा केही समयमा नै अत्याधिक चर्चामा(यसभन्दा तल भाइरल शब्दको प्रयोग हुनेछ) आउने र त्यसको केही समयमा नै गुमनाम हुने गरेको देखेका छौँ। आजभोलि हामी भाइरल मान्छेहरूले पस्किरहेको जुनसुकै विषयवस्तुलाई लिएर उत्साहित भइरहेको हुन्छौँ। हामी उनीहरूले पस्किरहेको कुराबाट मनोरञ्जन त लिन्छौँ तर उनीहरूको उदय र विसर्जन हुनुको सामाजिक कारण र अवस्थिति बारेमा खासै चर्चामा ल्याउँदैनौँ। तर आजभोलि तिनीहरूको अवस्थाको बारेमा केही सञ्चार माध्यमहरूमा केही विश्लेषण देख्न सकिन्छ।

उदाहरणको लागि दुई वर्ष अघि गुल्मीका सचिन परियार निकै भाइरल भए। उनी आफ्नो स्थानीय भाषाको बोली र सानै उमेरमा गीत गाएर भाइरल बनेका थिए। उनलाई विभिन्न टेलिभिजनको कार्यक्रममा स्थान दिइयो, ठूला कलाकारले पनि उनीसँग टिकटक बनाए। तर अहिले उनी गुल्मीको सडकमा मागेर हिडिरहेको भिडियोहरू सार्वजानिक भइरहेका छन्। त्यस्तै दुई वर्ष अघि सुन्दरीजलमा बस्ने अघोरी बाबाका नामले चिनिने(विजय केसी) पनि निकै भाइरल भए। उनलाई लिएर ठूलाठूला कम्पनिले विज्ञापन पनि खेलाए तर आजभोलि उनको हालतको बारेमा कसैलाई पनि थाहा छैन। यस्तै थुप्रै भाइरलहरू छन्। उनीहरू एक समय निकै चर्चामा आँउछन् तर केही समयमा नै उनीहरू विलय हुन्छन् अर्थात् पुरानै अवस्थामा पुग्छन्।

आजभोलि भाइरलको ठाउँ दुई जना भेलु बाजे र काले दाइले ओगटीरहेका छन्। अन्टरसन्टर बोलेर उनीहरू भाइरल बनिरहेका छन्। अबको केही समयमा नै यिनीहरू पनि गुमनाम हुने र नयाँ भाइरलहरू आउने कुरा निश्चित प्राय जस्तै छ। यसमा हामीले आखिर किन मानिसहरू भाइरल हुन्छन् ? उनीहरू किन छिट्टै उदाउछन् ? उनीहरू किन फेरि छिट्टै गुमनाम हुन्छन् ? यस्तो प्रक्रियामा सामाजिक अवयवहरूले कसरी काम गर्छन् ? भन्ने विषयलाई लिएर हामी केही फरक कोणबाट विश्लेषण गर्ने प्रयत्न गरेका छौँ। मानिस र समाज र चिन्तनबीचको सम्बन्ध आधुनिक मानवको विकाससँगै अभिन्न रुपले गासिएको छ।

समाजमा घटित हरेक घटनाले मानवीय जीवनमा प्रत्यक्ष तथा परोक्ष प्रभाव पारिरहेको छ। अझ भन्नु पर्दा समाज भनेकै मानिसको सामूहिक रुप हो र मानिस समाजको सानो इकाई हो। त्यसैले मानवीय जीवन, आचरण, संस्कृति, व्यवहारमा हुने परिवर्तनले सामाजिक जीवनमा पनि प्रभाव पार्दछ भने समाजिक जीवनमा हुने परिवर्तनले पनि मानिसको जीवनलाई प्रभाव पार्दछ र नियन्त्रणमा राख्दछ। हरेक जीवलाई आफू बाँच्नको लागि आहाराको आवश्यकता पर्दछ।

सबै जीवहरूले प्रकृतिबाटै आहारा प्राप्त गर्दछन्। तर मानिस एकमात्र यस्तो जीव हो जसले आफ्नो योजना बनाई प्रकृतिसँग संघर्ष र सहकार्य गरेर आफू बाँच्नको लागि आहारा, बस्नको लागि बास र न्यानोको लागि कपासको निर्माण गर्दछ। यही कारणले मानिसलाई चेतनशिल र विशिष्ट प्राणी भनिएको हो। मानिसले आफ्नो लागि आवश्यक वस्तुहरूको निर्माण गर्ने निश्चित प्रक्रिया हुन्छ। जसलाई हामी उत्पादन कार्य भन्दछौँ।

यो उत्पादन मानवले एक्लाएक्लै गर्न सक्दैन। यसका लागि समूहको आवश्यकता पर्दछ। सामूहिकता र सहकार्यबाट मात्र उत्पादनको कार्य गर्न सकिन्छ। यसै उत्पादन कार्यमा सम्मिलित हुँदा एकआपसको सम्पर्कमा आउँछन् र विभिन्न सम्बन्धमा बाँधिन्छन्। यस क्रममा उनीहरूले आफ्ना ज्ञान, अनुभव, विचार, कला, संस्कृति, भावना र जीवनशैलीको पनि साटासाट गर्दछन्। यसरी मानव समाज आजसम्म विभिन्न युग अनुसार अगाडि बढ्दै आइरहेको छ।

यही कुरालाई प्रख्यात जर्मन दार्शनिक कार्ल माक्सले आफ्नो पुस्तक ‘राजनीतिक अर्थशास्त्रको आचोचनामा योगदान’ मा यसरी उल्लेख गरेका छन्,‘ आफ्नो जीवनको सामाजिक उत्पादनमा मानिस एउटा यस्तो निश्चित सम्बन्धमा बाँधिन पुग्दछ जुन अपरिहार्य र उसको इच्छा भन्दा स्वतन्त्र हुन्छ। उत्पादनको यो सम्बन्ध भौतिक विकासको निश्चित स्तर अनुरुप हुन्छन्। यिनै उत्पादन सम्बन्धको पूर्ण योग नै समाजको आर्थिक ढाँचा हुन्छ। यही नै वास्तविक जग हो, जसमाथि कानुनी र राजनीतिक अर्थात् उपरी संरचना अडिएको हुन्छ र उसको अनुरुप नै सामाजिक चेतनाका निश्चित रुपहरू हुन्छन्।’

माक्सको भनाई (जसमा पंक्तिकार पनि पूर्णरुपमा सहमत छ) अनुसार हामीले जुन प्रकारको आर्थिक उत्पादन पद्धतिमा बाँचिराखेका हुन्छौ त्यसकै अनुरुप नै उपरी संरचनाका विभिन्न रुपहरूः वैचारिक, राजनीतिक, साँस्कृतिक, सहित्य, कलाका शाखाहरू पनि अपनाउन बाध्य हुन्छौँ। अनि यिनी शाखाहरू अनुसार नै मानवीय इच्छा, चाहना, मूल्य, मान्यता, आचरण, व्यवहार, भावनाका मानक निर्माण हुन्छन्। हाम्रो सन्तुष्टि र आनन्द पनि यिनै कुराले निर्धारण हुन्छन्।

आज हामी बाँचिराखेको युग पुँजीवादी उत्पादन पद्धतिमा आधारित छ। समाज विकासको क्रममा यो उत्पादन पद्धति अघिल्ला उत्पादन पद्धति भन्दा आधारभूत रुपले फरक छ। यसको मूख्य उद्देश्य भनेको नाफा कमाउनु हो। त्यसैले यसले नाफाका लागि निरन्तर आफ्नो रुपमा बदलाप ल्याइराख्दछ। यसको मूख्य कडी नै बजार हो। हुनत प्रारम्भिक समयमा बजारको उत्पति मानिसका आवश्यकता र वस्तु बीचको पुलको रुपमा काम गर्ने संयन्त्रको रुपमा भएको थियो।

आज जुन उत्पादन पद्धति हामीले अंगालिरहेका छौ त्यसको जन्मदाता पनि बजार नै हो। तर आज बजारले आफ्नो पुरानो रुपमा परिवर्तन ल्याएको छ। हिजो आफ्नो जन्मकालमा मानिसका आवश्यकता र वस्तु बीचको पुलको रुपमा थियो भने आज बजार मानिसका नयाँ आवश्यकताका जन्मदाताको रुपमा देखिएको छ। जसले आवश्यता मात्रै उत्पादन गरिरहेको छैन भारी मात्रामा ती वस्तुको बिक्रीसँग सम्बन्धित विचार, भावना, मूल्य मान्यता र सौन्दर्य चिन्तन पनि निर्माण गरिराखेको छ।

यस उत्पादन पद्धतिमा वस्तुको उत्पादन मानिसको आवश्यकतालाई आधारित बनाएर गरिदैन। यस व्यवस्थामा नाफालाई मूख्य केन्द्रमा राखेर वस्तुहरूको उत्पादन गरिन्छ र मानिसहरूको मस्तिष्कमा नयाँ आवश्यकता जन्माइन्छ। उपभोक्तालाई वस्तुहरू खरिदको लागि प्रतिस्पर्धामा लिँदा बढीभन्दा बढी सस्तो र धेरै उत्पादन गर्नुपर्ने हुन्छ। त्यसका लागि विभिन्न संयन्त्रहरू जस्तैः विज्ञापन, इन्टरनेट, विभिन्न सामाजिक प्लेर्टफर्महरू आदिको अत्याधिक प्रयोग गरिन्छ।

पुँजीवादी सत्तामा अएदेखि र विज्ञान र प्रविधिमा द्रुतगतिमा विकास भएको छ। जसले केवल उत्पादन कार्यमा मात्रै अथाह सम्भावना र ठूलो मात्रामा उत्पादन र उपभोग सम्भव बनाएको मात्रै छैन कि बरु सूचनाको केन्द्रीकरण र प्रसारणमा समेत फड्को मारेको छ। यसले मानिसको सम्पूर्ण जैविक स्वभावमाथि नै नियन्त्रण कायम गरेर नयाँ मानिसको सिर्जना गरिरहेको छ। सन् २०१६ मा स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक सम्मेलनबाट विद्धानहरूले अव विश्व चौथो औधोगिक क्रन्तिमा प्रवेश गरेको निष्कर्ष निकालेका छन्।

अहिलेको चौथो औधोगिक क्रान्ति विगतका औधोगिक क्रान्तिभन्दा आधारभूत रुपले भिन्न छ। यस क्रान्तिले नयाँ प्रविधिहरूको भौतिक, डिजिटल र जैविक सबै क्षेत्रको फ्युजन गरी मानवजातिको चेतना माथि नै आक्रमण गर्नसक्ने सम्भावना देखिएको विद्धानहरूको भनाई छ। पुँजीवादको विकाससँगै १८ औं शताब्दीमा वाष्प इन्जीनको आविष्कारसँगै पश्चिम यूरापेमा पहिलो औधोगिक क्रान्ति भएको थियो। जसले मानवको शारिरीक श्रमको ठाँउमा यन्त्रहरूको प्रयोगले उत्पादनमा बृद्धि ल्याएको थियो। त्यसले केवल उत्पादनको क्षेत्रका मात्रै होइन् सम्पूर्ण सामाजिक क्षेत्रमा पनि भारी मात्रामा परिवर्तन ल्याएको थियो।

त्यसपछि २० औं शताब्दीको प्रारम्भमा हावाईजहाजको आविष्कार, विदुतिय रेलको आविष्कार, मोटर गाडी र विद्युतबाट चल्ने मेसिन तथा आणविक हतियारको आविष्कारले दोस्रो औधोगिक क्रान्ति भएको थियो। जसले सामाजिक जीवनमा भारी मात्रामा उथलपुथल ल्याइदियो। दोस्रो विश्व युद्धको अन्त्यसँगै विज्ञान र प्रविधिमा भएको ठूलो मात्राको नयाँ-नयाँ आविष्कारले अन्तरिक्षको यात्रा, आणविक उर्जा र इन्टरनेटको आविष्कार सम्म प्रकृति विज्ञानमा छलाङ् र समाज विकासको यात्रामा नयाँ प्रकृतिको उथलपुथल ल्याइदियो र आज हामी चौंथो औधोगिक क्रान्तिको युगका बाँचिराखेका छौँ।

आजको विज्ञान र प्रविधिमा भएको नयाँ-नयाँ आविष्कारलाई पुँजीवादले राम्रोसँग आत्मसात् गरेको छ। यसले वस्तु उत्पादनको हरेक क्षेत्रमा उपलब्ध विज्ञान र प्रविधिको मज्जाले प्रयोग गरेको छ। उत्पादनको मात्रामा पनि काफि वृद्धि भएको छ। हिजो वस्तु उत्पादन गर्दा जति मानवीय श्रमको आवश्यकता पर्दथ्यो त्यति वस्तु उत्पादन गर्दा त्यो भन्दा कम मानवीय श्रम भए पुग्ने भएको छ। उत्पादकत्वमा भारी मात्रामा वृद्धि भएको छ। जसले गर्दा श्रम विभाजन पनि बढेको छ। विभिन्न नयाँ-नयाँ श्रमका शाखाहरू निर्माण भइरहेका छन्।

हिजो मानिसले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने ठाँउमा उनीहरू बीच भेटघाट हुन्थ्यो, कुराकानी हुन्थ्यो। एक प्रकारको सम्बन्ध स्थापित हुन्थ्यो। सामूहिक र सार्वजानिक सहकार्यको भावना पैदा हुन्थ्यो। त्यहाँ उत्पादनका माध्यमबाट एकआपसका विचार, भावना, अनुभव, ज्ञान पनि साँटासाँट हुन्थ्यो। आफ्नो जस्तै अवस्था अरुलाई पनि भएको महशुस हुन्थ्यो एक प्रकारको सन्तुष्टि, आनन्द प्राप्त हुन्थ्यो। तर आज हरेक ठाउँ, प्रत्येक पल मेसिनसँग, कम्युटरसँग एक्लाएक्लै काम गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ।

मानिस मानिसमा सम्पर्क, सहकार्यको वातावरण नै बन्दैन्। एकआफसमा विचार, भावना, ज्ञान, अनुभव साट्न अवसर नै पाँउदैनन्। जसले मानवीय संवेदना माथि ठूलो आघात पुर्‍याउँछ। अहिले चलिराखेको व्यवस्थामा बजारको आक्रमकता छ र यो विश्वव्यापिकरणसँगै आएको हो। यसले एउटा यस्तो संस्कृति र मूल्यको निर्माण गरेको छ जसको मुल उद्देश्य नै वस्तुको उपभोग हो र यसलाई नै सर्वोपरी ठान्ने छ। यसलाई दार्शनिक भाषामा उपभोक्तवाद भनेर चिनिन्छ। यो एउटा यस्तो विश्वदृष्टिकोण र पद्धति हो जसले हरेक कुरालाई उपभोग गर्ने दृष्टिकोणबाट मात्रै हेर्दछ। यसलाई मानवीय भावना, संवेदना, विचार, नैतिकता, आचरण केही कुराले पनि फरक पार्दनन्।

यसले केवल आफूलाई सहयोग पुर्‍याउने एउटा संयन्त्रलाई मात्र सधै खुसी राख्दछ। त्यो हो बजारवाद। बजारबादले उपभोक्तवादलाई टिकाई राख्न मद्दत गर्दछ भने उपभोक्तवादले बजारवादलाई फैलाउन फुलाउन बाटो दिन्छ। यी दुबै एक अर्काका पुरक हुन्। यस व्यवस्थाले कुनै पनि वस्तुको प्रचारप्रसारका माध्यमबाट मानिसलाई मनोवैज्ञानिक रुपमा नै त्यो वस्तुको आवश्यकता हुनुपर्ने बनाइदिन्छ। पहिला उत्पादनका कार्यमा संलग्न हुँदा एकप्रकारको सामाजिकता र सामूहिकता हुन्थ्यो। मानिस संवाद गर्दथे। एकआपसमा सँगै काम गर्ने चाहाना, भावना हुन्थ्यो। तर आज विज्ञान र प्रविधिको नयाँ-नयाँ विकासले गर्दा श्रमका नयाँ-नयाँ शाखाहरू खुल्न थालेका छन्। भारी मात्रामा श्रम विभाजन भएको हो।

अहिले मानिस एकआपसमा नजिक, सँगै भएर काम गर्न पर्दैन। एक्लै-एक्लै केवल मेसिनको सहायताले काम गर्न सक्छन्। तर मानवीय संवेदनालाई साझा बनाउन र साट्न सकिरहेका छैनन्। जसले गर्दा मान्छेमा एकप्रकारको अलगावको अवस्था सिर्जना भएको छ। मानिसहरू विरक्तिएका छन्। उनीहरू मानसिक तनाबमा नचाहाँदा नचाहाँदै परेका छन्। उनीहरूलाई विभिन्न मोटिभेसन, मनोचित्सकको आवश्यकता परेको छ। उनीहरूलाई खुसी हुनलाई विभिन्न हसाउने कार्यक्रमहरू, विपासना केन्द्रहरूको आवश्यकता परेको छ।

उनीहरूका कुरालाई सहजै स्विकार गर्दिने र जे गरेउ ठिकै गरेउ भन्ने मानिसको खाँचो परेको छ। यस्तो अवस्थामा भएको कुरा पनि जोसुकै सँग खोल्ने र कुरा गर्ने वातावरण छैन। अझ भन्ने हो भने गोपनियता भंग हुने पनि डर उत्तिकै छ। त्यसैले मानिस आफ्नो विरक्त्तातालाइै टाढा गर्न जतिसुकै समस्याग्रत विषय वस्तु भएपनि सामाजिक प्लेर्टफर्महरूमा आइरहेको भाइरलहरूको कन्टेन्टमाथि साहारामा लिन पुग्छन्। भाइरलहरूले आफ्नो हाउभाउ, बोली, भाषा, आचरण, व्यवहार विभिन्न किसिमका चर्तिकला देखाएर उनीहरूलाई हसाँउछन्। उनीहरूलायई मनोरञ्जन प्रदान गर्दछन्। उनीहरूका प्रस्तुतिलाई लिएर मानिसहरू आनन्द अनुभूति गर्दछन्। यस्ता कन्टेन्टबाट एकप्रकारको सन्तुष्टि प्राप्त गर्दछन्।

अधिकांश भाइरलहरूमा व्यवसायिक कलाकारहरूमा हुने गतिशिलता र सिर्जनात्मकता हुँदैन। उनीहरूले आफ्नो प्रस्तुतिमा व्यवसायिक कलाकारको जस्तो गतिशिलता ल्याउन सक्दैनन्। र त्यसको केही समयमा नै उनीहरू गुमनाम हुनु स्वभाविक बन्दछ। फेरि नयाँ परिस्थितिमा नयाँ विषयवस्तु र चर्तिकता सहित नयाँ भाइरलहरू आँउछन्। त्यो पनि तत्कालिन बजारमा सबैभन्दा बढी कुन वस्तुको चहलपहल छ त्यही वस्तु तथा त्यस्तो प्रकारको भावनासँग सम्बन्धित चर्तिकला भएका व्यक्तिहरू भाइरल हुन्छन्। तर जब बजारमा त्यस वस्तुको विज्ञापन सकिएपछि त्यससँग सम्बन्धित भाइरलहरू गुमनाम हुन्छन्।

त्यसपछि उनीहरूलाई कसैले पनि खोज्दैन्। यसबाट शिकार हुनेमा मध्यम वर्गका मान्छेहरू धेरै हुन्छन्। जसलाई छिटै धेरे कुराको उपभोग गर्न पर्ने हुन्छ। उनीहरूको आर्थिक अवस्थितिले उनीहरूलाई छिटो धनी हुने, विभिन्न नयाँ वस्तुहरूको उपभोग गर्ने, चर्चा कमाउने र हैसियत प्रर्दशन गर्ने मूल्य र संस्कृतिको निर्माण गरेको हुन्छ। मानिसले आफ्ना विभिन्न भावना, विचार, आचरण, संवेदनाहरू आफूजस्तै भावना, विचार, आचरण र संवेदना भएकाहरू मान्छेहरू सँग साँट्न चाहान्छ तर आजको बजार व्यवस्था र श्रम विभाजनले गर्दा सामाजिक काममा अर्थात् उत्पादनमा समेत सहभागि हुँदा पनि त्यो अवसर दिँदैन।

कामपछि घरमा आँउदा पनि परिवारका प्रत्येक व्यक्ति आधुनिक मेसिनसँगै व्यस्त भइराखेका हुन्छन् र ती भावना, विचार साट्न वातावरण र समय दुवै हुँदैनन्। साथसाथै विश्वास र गोपनियताको पनि ख्याल राख्नुपर्ने हुन्छ। किन कि यो व्यवस्था नाफाको भरमा अढिएको हुनाले जोसुकै, व्यक्तिले जुनसुकै अवस्थामा पनि नाफाका लागि ती विचार, भावना र गोप्य कुरा खोलिदिने डर प्राय सबैलाई हुन्छ।

आजको सम्पूर्ण सामाजिक सम्बन्ध वस्तुको उत्पादन, वितरण र विनिमयको चक्र नाफालाई केन्द्रविन्दुमा राखेर चलेको छ। पारिवारिक सम्बन्ध, माया, प्रेम, व्यवसायिक सम्बन्ध, शिक्षा, सम्पत्ति सम्बन्ध, साथीभाइको सम्बन्ध, सबै सम्बन्धहरू वस्तुको मुनाफाको आडमा नै अडिएको छ।

यस्तो अवस्थामा मानिसले आफ्नो सम्पूर्ण संवेदनाबाट केही क्षणको लागि भएपनि छुटकारा पाउनका लागि यस्ता भाइरलबाट सहायता पाउँछन्। तर यो व्यवस्थाको विसङ्गति नभएर चरित्र नै भएकाले यसको पूर्ण समाधान हुन सक्दैन। फेरि केही दिनपछि नै यस्ता भाइरललाई अर्का भाइरलले विस्थापित गरिदिन्छन्। फरक-फरक क्षेत्रहरूसँग सम्बन्धित भाइरलहरूको पनि यसरी एउटा चक्र निरन्तर चलिरहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma