Developed By Kuldeep Sharma

November 11, 2022

सिंगो गाउँ नै बिक्रीमा, कति होला मूल्य?

म्याड्रिड। सिंगो गाउँ नै बिक्री भएको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, स्पेनमा यस्तो घटना हुने भएको छ । उत्तर पश्चिमी स्पेनको ‘साल्टो डी क्यास्त्रो’ गाउँ बिक्रीमा राखिएको छ ।

यसको मूल्य दुई लाख ५९ हजार अमेरिकी डलर तोकिएको छ । पोर्चुगलको सीमानासँग जोडिएको जामोरा प्रान्तमा रहको साल्टो डी क्यास्त्रो गाउँ राजधानी म्याड्रिडबाट तीनदेखि चार घन्टाको ड्राइभबाट पुग्न सकिन्छ । सानो स्पेनी सहरमा भेटिने खालका थुप्रै भवन यहाँ पनि रहेका छन् ।

यहाँ कूल ४४ वटा घर, एउटा होटेल, एउटा चर्च, एउटा विद्यालय, एउटा महानगरीय पौडी पोखरी र सबैका घरमा सुरक्षा प्रदान गर्न प्रयोग हुने एउटा ब्यारेक भवनसमेत छ । तर यो गाउँमा बस्ने मानिसहरू भने कोही छैनन् ।

यस गाउँका वर्तमान मालिकले सन् २००० को सुरुमा गाउँलाई पर्यटकीय थलोमा परिणत गर्ने उद्देश्यले यसलाई किनेका थिए । तर, युरोजोन समस्याको कारण उनको योजना साकार हुन सकेको थिएन । ती व्यक्तिलाई प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोन्नी रोड्रिग्वेजले उनको यहाँ एउटा होटेल खोल्ने सपना पनि पूरा नभएको तर उनी अझै आफ्नो परियोजनाले वास्तविक रूप लिने आशमा रहेको बताएका छन् ।

आइडियलिस्टा वेबसाइटमा गाउँ बिक्रीको सूचना राखेका ती नाम नखुलाइएका ८० वर्षीय मालिकले भनेका छन्, “म सहरी वासिन्दा हुँ । र, मैले यस गाउँको मर्मत सम्भार गर्न नसकेकाले यसलाई बेच्दै छु ।”

गत साता विज्ञापनमा राखिएको यस साइट यति लोकप्रिय भएको छ कि अहिलेसम्म यसलाई ५० हजार पटक भन्दा बढी हेरिएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma