Developed By Kuldeep Sharma

January 4, 2023

भागेका कैदीको खोजीका क्रममा सातजना मारिए

मेक्सिको सिटी । मेक्सिकोमा आइतबार हिंसात्मक माहोलमा कारागार तोडेर भागेका तीस जना कैदीको खोजीको क्रममा भएको गोली हानाहानमा कम्तीमा सातजनाको ज्यान गएको छ । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली चलाउँदा दुईजना अनुसन्धानकारी मारिएका छन् । यस घटनामा पाँच जना बन्दुकधारीको पनि ज्यान गएको छ ।

तर, मारिनेहरू कारागारबाट भाग्ने कैदीहरू हुन् कि हैनन् भन्ने स्पष्ट भएको छैन ।

मेक्सिकोको कुख्यात अपराधिक समूह ‘सिनाओला कार्टेल’मा आबद्ध अर्को ग्याङ ‘लोस मेक्सिकल्स’को यस हिंसामा हात रहेको विश्वास गरिएको छ । सिउडाड हुवारेजस्थित कारागारबाट कैदीहरू भाग्ने क्रममा १० जना गार्ड र सातजना कैदीको ज्यान गएको थियो ।

नयाँ वर्षको उपलक्षमा कारगारमा थुनिएका आफन्तहरू भेट्न आएका मानिसहरूका घुइँचोको फाइदा उठाउँदै लोस मेक्स्किल्सका सदस्यहरूले त्यहाँ आक्रमण गरेका थिए । उनीहरू थुप्रै शसस्त्र सवारी साधनमा आएका थिए ।

त्यहीबेला कैदीहरूले गार्डहरूलाई अलमलाउन आफ्ना कोठाका म्याट बालेका थिए । कारागारबाट भाग्न सफल हुनेहरूमध्ये लोस मेक्सिकल्सका नाइके अर्नेस्टो पिनोन डि ला क्रुज उर्फ एल नेटो पनि रहेका छन् । अपहरण र हत्याको अभियोगमा ३३ वर्षीय एल नेटोले १४ वर्ष लामो कैद सजाय भोगिरहेका थिए । सन् २०१० मा पनि उनलाई भगाउन गरिएको एक असफल प्रयास दौरान उनी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma